News Griha :: न्यूजगृह
हङकङविरुद्धको जितसँगै नेपाल १ खेलअगावै सेमिफाइनलमा

काठमाडौं— एसीसी प्रिमियर कप टी–२० क्रिकेटमा लगातार तेस्रो जित निकाल्दै साविक विजेता नेपाल सेमिफाइनलमा पुगेको छ। सोमबार भएको खेलमा हङकङमाथि ८ विकेटको फराकिलो जित निकाल्दै नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगेको हो।  समूहको शीर्ष स्थानमा रहेको नेपालको ६ अंक भएको छ। साउदी अरेबिया, मलेसिया र हङकङको समान २ अंक छ।

नेपालसँग पराजित भएसँगै हङकङको सेमिफाइनल पुग्ने सम्भावना कठिन बनेको छ। समूह 'ए' मा यसअघि नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले पराजित गरेको थियो। 

सोमबार अल अमेरतमा हङकङले दिएको ११५ रनको लक्ष्य नेपालले २ विकेट गुमाएर १२.२ ओभरमै पूरा गर्‍यो। उत्कृष्ट सुरुवात दिलाएका नेपालका ओपनरद्वय आसिफ शेखले ४० रन र कुशल भुर्तेलले ३२ रन जोडे। आसिफले १८ बलमा ३ चौका र ३ छक्का तथा कुशलले १९ बलमा ३ चौका र २ छक्का प्रहार गरे। 

कप्तान रोहित पौडेलले २० बलमा नटआउट २५ रन र सन्दीप जोराले १७ बलमा नटआउट १९ रन जोडे। वर्षाका कारण ढिलो गरी सुरु भएको खेल १८ ओभरमा झारिएको थियो। जसमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको हङकङ १ बल बाँकी छँदा ११४ रनमा अलआउट भयो।

हङकङका ओपनर मार्टिन कोट्जेलाई करण केसीले तेस्रो ओभरमा ८ रनमा आसिफ शेखबाट क्याच गराए। यस्तै छैटौँ ओभरमा हङकङका कप्तान निजाकत खानलाई दीपेन्द्रसिंह ऐरीले १२ रनमा रनआउट गरे। 

हङकङका लागि सबैभन्दा बढी रन बनाएका अंशुमन रथ पनि रनआउटको सिकार भए। उनलाई नवौँ ओभरमा नेपालका गुल्सन झाले बाउन्ड्री नजिकबाट डाइरेक्ट हिट मार्फत ३४ रनमा रनआउट गरे।   

त्यसपछि हङकङका ब्याटर चल्न सकेनन्। बलिङमा अविनाशले ३ विकेट लिए भने ललित र दीपेन्द्रले २/२ विकेट लिए। करण केसीले १ विकेट हात पारे। अविनाशले ४ ओभरमा २९ रन खर्चिए। ललितले ४ ओभरमा १ मेडन राख्दा १४ रन मात्र दिए। दीपेन्द्रले ५ बलमा ६ रन खर्चिए। करणले ४ ओभरमा २४ रन दिए।

१० टिम सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’मा छ। नेपालको समूहमा मलेसिया, कतार, हङकङ र साउदी अरेबिया छन्। 

कपको आयोजक ओमान समूह ‘बी’ मा छ। समूहमा ओमानसहित यूएई, कुवेत, बहराइन र कम्बोडिया छन्। नेपालले चौथो खेल साउदी अरेबियासँग वैशाख ५ गते खेल्नेछ। समूहमा शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल वैशाख ७ गते र फाइनल वैशाख ९ गते हुनेछ। 

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १५:४१
Weather Update