News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
एसीसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात

काठमाडौं— एसीसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ। ओमानमा शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको हो।

मलेसियाले दिएको १४४ रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा ४ बल खेल्न बाँकी छँदा पूरा गर्‍यो। नेपालका ओपनरद्वय कुशल भुर्तेलले २४ रन र आसिफ शेखले ३२ रन बनाए। कप्तान रोहितकुमार पौडेलले २८ रन जोड्दा कुशल मल्ल ७ रनमा आउट भए। 

Prabhu Bank

दीपेन्द्रसिंह ऐरीले २० रनको योगदान गरे। गुल्सन झाले नटआउट १९ रन र सन्दीप जोराले नटआउट १२ रन जोड्दा नेपालले जित निकालेको हो। बलिङमा मलेसियाका वीरन्ददीप सिंहले ३ विकेट लिए। त्यसअघि ओमानको अल अमरेतमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ३ विकेटको क्षतिमा १४३ रन जोड्यो। 

मलेसियाका लागि कप्तान तथा ओपनिङ ब्याटर वीरन्दीप सिंहले अर्धशतक प्रहार गरे। उनले नटआउट ७२ रन जोड्ने क्रममा ५७ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। अर्का ओपनर अमिर अजिमलाई दीपेन्द्रसिंह ऐरीले १६ रनमा आउट गर्दा अभिनास बोहराले शर्भिन मुयान्डीलाई ४१ रनमा बोल्ड गरे। दीपेन्द्रले सयद अजिजलाई पनि ६ रनमा आउट गरे।  दीपेन्द्रले ४ ओभरमा १४ रन खर्चिँदा २ विकेट लिए। 

प्रतियोगिताको नेपाल साविक विजेता हो। प्रतियोगितामा १० टिम सहभागी छन्। समूह ‘ए’ मा रहेको नेपालसँगै समूहमा मलेसिया, कतार, हङकङ र साउदी अरेबिया छन्। कपको आयोजक ओमान समूह ‘बी’ मा छ। समूहमा ओमानसहित युएई, कुवेत, बहराइन र कम्बोडिया छन्।

नेपालले दोस्रो खेल कतारसँग वैशाख १ गते, तेस्रो खेल हङकङसँग वैशाख  ३ गते र चौथो खेल साउदी अरेबियासँग वैशाख ५ गते खेल्नेछ। समूहमा शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल वैशाख ७ गते र फाइनल वैशाख ९ गते हुनेछ।

यो प्रतियोगिता जित्ने टिम सन् २०२५ को एसिया कपमा पुग्नेछ। सन् २०२५ को एसिया कप टी-२० फर्म्याटमा हुनेछ। शीर्ष तीन टिमले एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्नेछन्। प्रतियोगितालाई आईसीसी टी-२० विश्वकपको तयारीको रूपमा लिइएको छ। गत वर्ष नेपालमा भएको प्रतियोगिता जितेको नेपालका लागि उपाधि रक्षा गर्ने चुनौती पनि छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १९:३६
Weather Update