
काठमाडौं— तीव्र गतिका बलर जस्प्रित बुमराहको घातक बलिङसँगै शीर्षक्रमका ब्याटरको उत्कृष्ट प्रदर्शनमा मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी)माथि ७ विकेटको सानदार जित हात पारेको छ।
१९७ रनको लक्ष्य मुम्बईले १५.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। मुम्बईका ईशान किशनले ३४ बलमा ७ चौका र ५ छक्कासहित सर्वाधिक ६९ रन बनाए।
सूर्यकुमार यादवले १९ बलमा ५ चौका र ४ छक्कासहित ५२ रनको आक्रामक क्रिकेट खेल्दै पुनरागमन गरे। रोहित शर्मा २४ बलमा ३ चौका र ३ छक्कासहित ३८, हार्दिक पाण्ड्या २१ र तिलक बर्मा १६ रन बनाए। बेंगलोरका आकाश दीप, विजयकुमार वैश्यक र विल ज्याक्सले १र१ विकेट लिए।
त्यसअघि वानखडे स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बेंगलोरले २० ओभरमा ८ विकेट गुमाउँदै १९६ रन बनाएको थियो। बेंगलोरका कप्तान फाफ डु प्लेसिसले ४० बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ६१ रन बनाएका थिए।
रजत पाटिदार २६ बलमा ३ चौका र ४ छक्कासहित ५० रनमा आउट भए। दिनेश कार्तिकले २३ बलमा ५ चौका र ४ छक्कासहित ५३ रनमा नट आउट रहे। विराट कोहली ३, विल ज्याक्स ८ र ग्लेन म्याक्सवेल शून्यमा आउट भए।
मुम्बईका जस्प्रित बुमराहले ४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिए। जेराल्ड कोट्जी, आकाश माधवाल र श्रेयस गोपालले १र१ विकेट लिए।
मुम्बई ५ खेलमा २ मा जित र ३ मा हारसहित सातौं स्थानमा छ। बेंगलोर ६ खेलमा १ मा जितसहित नवौँ स्थानमा छ। राजस्थान रोयल्स ५ खेलमा ४ मा जितसहित ८ अंक जोड्दै शीर्षस्थानमा छ।