News Griha :: न्यूजगृह
एसीसी टी–२० प्रिमियर कप: नेपालले आज पहिलो खेल मलेसियासँग खेल्दै‚ यस्तो छ तालिका

काठमाडौं— एसीसी टी–२० प्रिमियर कपमा नेपालले शुक्रबार मलेसियासँग खेल्दै छ। ओमानमा हुने खेल नेपाली समयअनुसार अपरान्ह सवा ४ बजे शुरु हुनेछ।

तुलनात्मक रुपमा सहज प्रतिद्वन्द्वी मलेसियासँग खेल्दै नेपालले एसीसी प्रिमियर कपको शुरु गर्न लागेको हो। डिफेन्डिङ च्याम्पियन नेपालले एसीसी प्रिमियर कपको उपाधि रक्षा गरे अर्को वर्ष एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने अवसर प्राप्त हुनेछ।

साविक विजेता नेपाली टिमलाई उपाधि रक्षा गर्दै टी–ट्वेन्टी आई एसिया कपमा स्थान बनाउनु पर्ने चुनौती छ। 
अघिल्लो वर्ष घरेलु मैदानमै भएको एसीसी प्रिमियर कप जितेर पहिलोपटक एसिया कप खेलेको नेपालले भारत र पाकिस्तानजस्ता बलिया टोलीविरुद्ध प्रभावशाली प्रदर्शन गरेको थियो। 

खेल तालिकाअनुसार नेपालले नयाँ वर्षको दिन शनिबार अपरान्ह सवा ४ बजे कतारको सामना गर्नेछ भने वैशाख ३ गते सोमबार हङकङसँग खेल्नेछ। हङ्कङसँगको खेल नेपाली समयअनुसार पौने १२ बजे शुरु हुनेछ।

नेपाल र साउदी अरेबियाबीचको खेल वैशाख ५ गते बुधवार दिउँसो पौने १२ बजे शुरु हुनेछ। प्रतियोगिताको समूह ए मा नेपाल, मलेशिया, साउदी अरेबिया, कतार र हङकङ छन् भने समूह बी मा यूएई, ओमान, बहराइन, कम्बोडिया र कुवेत छन्।

प्रतियोगिताअन्तर्गत शुक्रबार नै समूह बी का ओमान र बहराइन तथा यूएई र कुवेतबीच प्रतिष्पर्धा हुँदैछ भने समूह ए तर्फको अर्को खेलमा हङकङले कतारको सामना गर्नेछ। 

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  ०६:०९
Weather Update