
काठमाडौं — आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले पहिलो हार ब्यहोरेको छ। गएराति भएको खेलमा गुजरात टाईटन्सले राजस्थानलाई ३ विकेटले हरायो।
राजस्थानले दिएको १ सय ९७ रनको विशाल लक्ष्य गुजरातले अन्तिम बलमा ७ विकेट गुमाएर भेट्टायो। अन्तिम ओभरमा १५ रन चाहिएकोमा रसिद खानले आवेश खानको पहिलो तीन बलमा ४, २ र ४ रन प्रहार गरे।
चौथो बलमा उनले एक रन लिए भने पाँचौं बलमा ३ रन लिने क्रममा राहुल टेवाटिया रन आउट भए। अन्तिम बलमा २ रन चाहिएको अवस्थामा रसिदले चौका प्रहार गरेपछि गुजरातले खेलमा रोमान्चक जित निकाल्यो।
गुजरातका लागि कप्तान शुभमन गिलले सर्वाधिक ७२ रन बनाए। यस्तै ओपनर साई सुदर्शनले ३५ तथा रसिदले २४ रन बनाए भने टेवाटियाले २२ रन जोडे। राजस्थानका लागि कुलदीप सेनले ३ तथा युजभेन्द्र चहलले २ विकेट लिए। आवेश खानले १ विकेट लिए।
त्यसअघि जयपुरमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ३ विकेट मात्र गुमाएर १ सय ९६ रन बनायो। राजस्थानका लागि रियान परागले सर्वाधिक ७६ रन बनाए । कप्तान सन्जु स्यामसनले ६८ रन जोडे। त्यस्तै यशसस्वी जैसवालले २४ रन बनाए।
गुजरातका लागि उमेश यादव, रसिद र मोहित शर्माले समान १ विकेट लिए। जित पछि गुजरात ६ खेलमा ६ अंक सहित छरौं स्थानमा छ। राजस्थान ५ खेलमा ८ अंक सहित शीर्ष स्थानमा छ।
प्रतियोगितामा आज मुम्बई इन्डियन र रोयल च्यालेन्जर्स बेंगलूरुबीच खेल हुनेछ।