News Griha :: न्यूजगृह
भारत बेतालघाट दुर्घटनाः मृतक सातै जनाको शव नेपाल ल्याइँदै 

काठमाडौं— सोमबार राति भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लाको बेतालघाटमा सडक दुर्घटनामा परी मृत्यु भएका सात जना नेपालीको शव आज नेपाल ल्याइँदै छ। 

दुर्घटनाको खबरपछि बुबाको शव बुझ्न नैनीताल पुगेका बाँकेको बैजनाथ गाउँपालिका–८ का प्रमोद थारुले मृतक सबैको शव परीक्षण अस्पतालले गरिसकेको जानकारी दिए। दुर्घटनामा मृत्यु भएका विश्राम थारूका छोरा प्रमोदले मृतकका केही आफन्तहरू पनि शव लिन नैनीताल पुगेको बताए।

‘अस्पतालमा परीक्षणको सबै काम सकेर शव गाडीमा हाल्दै छौँ,’ नैनीतालबाट प्रमोदले भने, ‘शवका लागि बरफको व्यवस्था नहुँदा हल्द्धानी पुगेर हाल्ने सल्लाह भएको छ।’ उनले पश्चिमी नाका गड्डाचौकी हुँदै शवहरू आज साँझसम्म नेपाल पुगिसक्ने बताए। सवारी दुर्घटनामा परी मृत्यु हुनेमा बाँकेको बैजनाथ–८ का धिरज थारू, उदयराम थारू, विश्राम थारू, तिलकराम थारू, अन्तराम थारू र विनोद थारू र बर्दियाको बाँसगढी नगरपालिका–१ चेपाङका टोपबहादुर बस्नेत छन्।

यो पनि पढ्नुहोस: भारतमा गाडी दुर्घटना हुँदा ७ नेपालीको मृत्यु

त्यसैगरी बैजनाथ गाउँपालिका–८ का वडाध्यक्ष भगन थारूले मृतकको शव ल्याउने विषयमा समस्या परे वडा कार्यालयले विपद् व्यवस्थापन कोषबाट रकम खर्च गर्ने व्यवस्था गरिने बताए। ‘मृतकका आफन्तहरू नैनीताल पुगेर हामीसँग नियमित सम्पर्क गरिरहनुभएको छ,’ उनले भने, ‘नयाँ वर्ष मनाउन घर फर्किरहेका दुर्घटनामा परेपछि सिङ्गो वडा नै शोकमा छ।’ 

वडाध्यक्ष थारूका अनुसार दुर्घटनामा परी सोही वडाका स्थानीय दशरथ थारू र शान्ति थारू घाइते भएका र उनीहरूको भारतमै उपचार भइरहेको छ। सो दुर्घटनामा परी सात नेपाली नागरिक रजीप चालक भारतीय नागरिकसहित आठ जनाको मृत्यु भएको थियो। घटनास्थल वरपर नै उनीहरु सडक छेउमा खानेपानीको पाइप बिछ्‌याउने काम गर्दथे। सोमबार काम सकिएपछि जीप भाडामा लिएर टकनपुर आउने तयारीमा रहेका उनीहरु जीप चढेको केही बेरमै दुर्घटना भएको थियो।

यो पनि पढ्नुहोस: दुर्घटनामा एकै वडाका ६ जनाको मृत्युले बाँकेको टिटिहिरिया गाउँ नै शोकमा

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १६:१२
Weather Update