News Griha :: न्यूजगृह
जर्सीले क्यानमा भाँडभैलो: क्रिकेटप्रेमीको प्रश्न–राष्ट्रिय झण्डा किन झुकाइयो?

काठमाडौं — नेपाल क्रिकेट एसोसिएसन (क्यान) विश्वकप नजिकिँदै गर्दा जर्सीका कारण विवादमा तानिएको छ। आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपको लागि नेपाली टोली अभ्यासमा अभ्यस्त भइरहेको बेला बुधबार क्यानले खेलाडीका लागि आधिकारिक जर्सी सार्वजनिक गरेको थियो।

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टङ्कलाल घिसिङले संयुक्त रुपमा विश्वकपमा नेपाली खेलाडीले प्रयोग गर्ने जर्सी सार्वजनिक गरेका थिए। तर, जर्सीकै विषयलाई लिएर नेपाल क्रिकेट संघ (क्यान) नै दुई कित्तामा विभाजित भएको छ।

क्यानका केन्द्रीय सदस्य तथा पूर्वप्रवक्ता दुर्गाराज पाठकले नेपाली खेलाडीले प्रयोग गर्ने जर्सीमा नेपालको मौलिकता, राष्ट्रियता र पहिचान झल्किने भएकाले छलफल नगरी जर्सी सार्वजनिक गर्नु आफैँमा गलत भएको बताए।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगाउने जर्सीजस्तो संवेदनशील र अन्तर्राष्ट्रिय पहिचानको विषयमा समेत छलफल नगरी क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काले एकतर्फी र एकलौटी गरेको आरोप पाठकको छ। संस्थागत र सामूहिक गर्नुपर्ने भएता पनि क्यानका केही पदाधिकारीहरूले जानकारीसमेत नदिई रातरात जर्सी सार्वजनिक गर्नु दुःखद भएको भन्दै आपत्ति जनाए। 

उनले भने, ‘कुनैपनि खेलाडीले प्रयोग गर्ने जर्सी उक्त देशको मौलिकता, पहिचान र उसको राष्ट्रियताको प्रतिनिधित्व गर्ने गर्दछ। अहिले नेपाली खेलाडीले प्रयोग गर्दै आएको जर्सी हामीले क्यानको बोर्ड बैठकबाट निर्णय गरेर छनोट गरेका थियौं। धेरै कम्पनीलाई जर्सी बनाउन भनेका थियौं। त्यहीबाट सबैले छलफल र सहमतिमा छनोट गरेका हौं। तर अहिले क्यानमा आवद्ध भएको एक जिम्मेवार व्यक्ति मैले मात्रै दुई दिन पहिले थाहा पाएँ। जर्सी त तयार भइसकेको रहेछ। कम्तिमा क्यानमा त छलफल गर्नुपर्छ। एकतर्फी गर्न खोज्नुभएको छ।’

अहिलेको नेतृत्वले नेपाली क्रिकेट जगतको नेतृत्व गर्न नसकिरहेको पाठकको आरोप छ। क्यान अध्यक्ष चतुरबहादुर चन्दले कसैलाई ‘बाइपास’ नगरिएको टिप्पणी गरे।  उनले जर्सीलाई लिएर क्यानका केही सदस्यहरूले अतिरञ्जना मच्चाइरहेको बताए। 

चन्दले भने, ‘पहिले क्यानको बोर्ड बैठकबाट छलफल गरेर हामीले जर्सी छनोट गर्थ्यौ। अहिले विश्वकपको तयारीका लागि समय कम भएका कारणले छलफल नगरी सार्वजनिक गर्नुपर्ने भयो। जर्सीका विषयमा कसैलाई बाइपास गरिएको छैन।’

जर्सीमा झण्डा झुकेको स्टिकर प्रयोग गरिएकोप्रति क्रिकेट समर्थकले आलोचना गरिरहेका छन्। सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ नि भन्ने जिज्ञासामा उनले भने, ‘ झुकाएको भन्नु भएन। यसलाई सकारात्मक रुपमा लिउँ। काँधमा झण्डा राख्दैमा झुकाएको भन्न मिल्दैन।’

नेपालको नयाँ जर्सीमा रातो, हल्का सेतो र नीलो रङ्ग मिश्रित गरिएको छ भने दुवै काँधमा नेपालको झण्डा अंकित रहेको छ। त्यस्तै जर्सीको तल्लो भागमा सगरमाथा अंकित छ भने छातीको एक भागमा प्रयोजकको लोगो र अर्को भागमा क्यानको लोगो राखिएको छ। 

यद्यपि, नेपाली राष्ट्रिय टोली अभ्यासका लागि देशबाहिर रहेको अवस्थामा जर्सी सार्वजनिक गर्नुलाई क्रिकेटप्रेमीले खिन्नता व्यक्त गरिरहेका छन्। भने अर्कोतर्फ जर्सीमा प्रयोग गरिएको नेपाली झण्डा र जर्सीको रङ्गलाई लिएर समेत नकारात्मक प्रतिक्रियाहरू आइरहेका छन्। 

क्यानले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पोस्टमा फेसबुक प्रयोगकर्ताहरूले देशको प्रतिष्ठा र स्वाभिमानसँग जोडिएको भन्दै तुरुन्त जर्सी फेर्न दबाब दिएका छन्। जर्सीबारे टिप्पणी गर्दै एकजना प्रयोगकर्ता लेख्छन्, ‘सगरमाथाको माथिल्लो भागमा सेतो कलरमा हुनुपर्ने, गैँडाको कमसेकम क्यानको लोगोमा मुख मात्र देखिन्छ। झण्डा काँधमा भन्दा बाउलामा हुनुपर्ने, भगवान गौतम बुद्धको फोटो अगाडि वा पछाडि मिलाएर राख्नुपर्ने थियो।’

नयाँ जर्सीमा प्रयोग गरिएको राष्ट्रिय झन्डाको विषयलाई लिएर सबैभन्दा बढी नकारात्मक टिप्पणी आएका छन्। खेलाडीको काँधमा पर्नेगरी जर्सीको दुवैतर्फ राखिएको राष्ट्रिय झण्डा झुकेको बनाइएको छ। सोही विषयलाई लिएर सामाजिक सञ्जालमा नयाँ जर्सीको बढी विरोध भइरहेको हो। 

अर्का प्रयोगकर्ता लेख्छन्, ‘चन्द्र र सूर्य प्रष्टसँग देखिनुपर्यो। हाम्रो राष्ट्रिय झण्डा झुकेको छैन र झुक्दैन पनि। त्यसैले कि ठुलो बनाउनुस् कि त ठाडो बनाउनुस्। यो चाँहि भएन। जर्सी क्यानका दुई जनालाई होइन समग्र नेपालीलाई मनपर्ने हुनुपर्दछ।’

त्यसैगरी, जर्सीमा प्रयोग गरिएको पहेँलो रङ्ग र हिमालमा प्रयोग गरिएको रातो रङ्गको विषयलाई लिएर पनि धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले नकारात्मक टिप्पणी गरिरहेका छन्।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १५:४५
Weather Update