News Griha :: न्यूजगृह
ह्विलचियर बास्केटबल मङ्गलबारदेखि, १३ टोली सहभागी

काठमाडौं— दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा १३ टोलीले सहभागिता जनाउने भएका छन्।

नेपाल स्पाइनल कर्ड इन्ज्युरी खेलकुद संघको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको कबर्ड हलमा मंगलबार र बुधबार प्रतियोगिता हुँदै छ। 

संघका अध्यक्ष देवी आचार्यकाअनुसार दुई दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी र सशस्त्र प्रहरी बलको एपीएफसहित जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब, विइन, ह्विलचियर स्पोर्ट्स एसोसिएसन (डब्ल्यूएसए), इस्पाइनल कट इन्ज्युरी नेटवर्क नेपाल, बीआईए र आयोजक नेपाल स्पाइनल कर्ड इन्जुरीले सहभागिता जनाउने छन्।

यी ८ क्लबका ६ महिला र ८ पुरूष गरी १३ वटा टोली बनाइएको आचार्यले जानकारी दिइन्।प्रतियोगिताको विजेताले ५० हजार र उपविजेता टोलीले ४० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

यस्तै, तेस्रो हुने टोलीले ३० हजार र प्रतियोगिताभर दुवै टोलीको हाई स्कोरले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै, मस्ट भ्यालुएबल प्लेयरलाई २५ हजार रुपैयाँ दिने उनले बताइन्।

प्रतियोगितामा भाग लिने सबै खेलाडीहरूलाई जर्सीको व्यवस्थासहित प्रतिदिन एक हजारका दरले यातायात खर्च र प्रतियोगिता सञ्चालन भरि खाजाखानासमेत उपलब्ध गराइएको आचार्यले जानकारी दिइन्।

प्रतियोगितामा सम्पन्न गर्न १९ लाख १२ हजार ५०० रुपैयाँ लाग्ने संघले जनाएको छ। प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले गर्ने छन्। यस्तै, प्रतियोगिताको समापन भने राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टङ्कलाल घिसिङले गर्ने संघले जनाएको छ।

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  २०:०९
Weather Update