आईपीएलको जारी सिजनमा मुम्बईको पहिलो जित, दिल्ली २९ रनले पराजित

काठमाडौं — पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनमा दिल्ली क्यापिटल्सलाई २९ रनले हराउँदै विजयी सुरुवात गरेको छ।
२३५ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउँदै २०८ रन बनायो।
दिल्लीका ट्रिस्टन स्टब्सले २५ बलमा ३ चौका र ७ छक्कासहित ७१ रनमा नट आउट रहे। पृथ्वी शाले ४० बलमा ८ चौका र ३ छक्कासहित ६६, डेविड वार्नर १० र अभिषेक पोरेलले ४१ रन बनाए।
मुम्बईका जेराल्ड कोट्जीले ४ ओभरमा ३४ रन खर्चेर ४ विकेट लिए। जस्प्रित बुमराहले २ र रोमारियो शेफर्डले १ विकेट लिए। त्यसअघि वानखडे स्टेडियमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा ५ विकेट गुमाउँदै २३४ रन बनाएको थियो।
टिम डेविड २१ बलमा २ चौका र ४ छक्कासहित ४५ रनमा नट आउट रहे। रोमारियो शेफर्ड १० बलमा ३ चौका र ४ छक्कासहित ३९ रनमा नट आउट रहे।
प्रकाशित मिति: आइतबार, चैत २५, २०८० २०:००