
काठमाडौं — युवा ओपनर अर्जुन कुमालको शतकको बाबजुद नेपाल ए तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा आयरल्यान्ड ए सँग ६९ रनले पराजित भएको छ।
योसँगै तीन खेलको सिरिजमा नेपाल ए ले ‘क्लिनस्विप’को हार व्यहोरेको छ। २८५ रनको लक्ष्य पछ्याएको नेपाल ३९.४ ओभरमा २१५ रनमा अल आउट भयो। ओपनर अर्जुन कुमालले ११८ बलमा १४ चौकासहित १०२ रनको शतकीय इनिङ खेले। सिनियर क्रिकेट र लिस्ट ए मा उनको पहिलो शतक। यू-१९ अन्तर्राष्ट्रियमा भने दुई शतक हानेका छन्।
अर्का ओपनर अर्जुन साउद ३० बलमा ४ चौका र ३ छक्कासहित ३६ रन बनाए। अन्य कुनै पनि ब्याटरले राम्रो गर्न सकेनन्। देव खनाल ११, नरेन भट्ट १५, विनोद भण्डारी ४, भीम सार्की डक र रुपेश सिंह १५ रनमा आउट भए।
आयरल्यान्डका बेन ह्वाइटले १० ओभरमा १ मेडनसहित ६२ रन खर्चेर ५ विकेट लिए। गेभिन होइले ४ र म्याथ्यु फस्टरले १ विकेट लिए। त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्डले ५० ओभरमा ९ विकेट गुमाउँदै २८४ रन बनाएको थियो।
आयरल्यान्डको जितमा स्टेफन डोहेनीले १२९ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक १०७ रनको शतकीय इनिङ खेलेका थिए।पिटर मुर २५ बलमा २ चौका र ५ छक्कासहित ४४ रनको आक्रामक इनिङ खेल्दै आउट भएका थिए।
उनी आउट भएपछि मध्यक्रमका ब्याटरले भने ठूलो इनिङ खेल्न सकेनन् । केड कार्माइकल २१, निल रक १, गेभिन होइ १४, फिओन ह्यान्ड २० रनमा आउट भए । तल्लोक्रममा बेन ह्वाइटले १९ र म्याथ्यु हम्फ्रेजले २३ रनको योगदान दिए।
डेब्यू खेल खेलेका बायाँ हाते स्पिनर स्पिनर रञ्जित कुमारले १० ओभरमा १ मेडनसहित ५१ रन खर्चेर ३ विकेट लिए। तीव्र गतिका बलर रिजन ढकालले १० ओभरमा ७५ रन खर्चेर ३ विकेट लिए। विकास आग्री र साहब आलमले १९१ विकेट लिए। नेपाल पहिलो खेलमा २७ रन र दोस्रोमा ११४ रनले पराजित भएको थियो।