News Griha :: न्यूजगृह
फ्रेन्डसिप कप: गुजरातलाई हराउँदै नेपालले जित्यो उपाधि

काठमाडौं —  नेपालले फ्रेन्डसिप कप टी२० प्रतियोगिताको फाइनलमा गुजरातलाई १८ रनले हराउँदै उपाधि जितेको छ।

१७७ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउँदै १५८ रन मात्रै बनाउन सक्यो। गुजरातका कप्तान उमांग रोहितकुमारले २८ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ४० रन बनाए।

आर्य देशाई २४ बलमा ४ चौका र २ छक्कासहित ३६, रुद्र पटेल १७, जयमित पटेल र हर्ष देशाईले १५र१५ रन बनाए। नेपालका अभिनाश बोहराले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए। दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिए।

करण केसी र कुशल मल्लले १र१ विकेट लिए। त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको थियो। नेपालका कप्तान रोहित पौडेलले ४७ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ७४ रनको इनिङ खेलेका थिए।

ओपनर आसिफ शेख ३४ बलमा २ चौका र १ छक्कासहित ३४ तथा कुशल भुर्तेल २१ बलमा १९ रनमा क्याच आउट भए। कुशल मल्ल १३ बलमा २ चौका र २ छक्कासहित ३१ तथा सन्दीप जोरा ७ रनमा नट आउट रहे।

दीपेन्द्रसिंह ऐरी ७ रनमा आउट भए । गुजरातका स्नेह पटेल, तेजास पटेल, जयमित पटेलले र जाला युवराज सिंहले १–१ विकेट लिए।

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १७:०८
Weather Update