News Griha :: न्यूजगृह
नेपालले गुजरातलाई दियो १७७ रनको लक्ष्य

काठमाडौं— भारतमा जारी एसएमएस फ्रेन्डसिप कपको फाइनलमा नेपालले गुजरातलाई १ सय ७७ रनको लक्ष्य दिएको छ।

गुजरातको वापीमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७६ रन बनायो।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले उत्कृष्ट पारी खेले। ४७ बलको सामना गरेका उनले ५ चौका र ४ छक्का सहित सर्वाधिक ७४ रन बनाए। यस्तै, कुशल मल्लले १३ बलमा अविजित ३१ रन बनाए। त्यस्तै, आसिफ शेखले ३४, कुशल भुर्तेलले १९, सन्दीप जोरा दीपेन्द्र सिंह ऐरीले सात/सात रन जोडे। उनीहरूमध्ये जोरा अविजित रहे। गुजरातका लागि शेन पटेल, तेजश पटेल, जाला युवराज सिंह र जयमित पटेलले समान एक/एक विकेट लिए।

नेपालले आज प्लेइङ–११ मा चार खेलाडी परिवर्तन गरेको छ। नेपालले फाइनलमा आकाश चन्द, प्रतिश जिसी, अनिलकुमार शाह र ललित राजवंशीलाई विश्राम दिँदै आशिफ शेख, रोहितकुमार पौडेल, सोमपाल कामी र अविनाश बोहरालाई मौका दिएको हो।

नेपालले लिग चरणमा गुजरातलाई दुवै खेल तथा बरोडालाई एक खेलमा हराएको थियो।

नेपालले उद्घाटन खेलमा गुजरातलाई ८ विकेट र दोस्रो म्याचमा बरोडालाई २७ रनले हरायो। तेस्रो म्याचमा गुजरातलाई ८ रनले हराएको नेपाल चौथो खेलमा भने बरोडासँग ३७ रनले स्तब्ध भएको थियो।  

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १५:२१
Weather Update