
काठमाडौं— तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा आइतबार आयरल्यान्ड ‘ए’ ले नेपालको ‘ए’ टोलीलाई जितका लागि दुई सय ८५ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको आयरल्यान्डले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ८४ रन बनाएको हो।
आयरल्यान्डका लागि ओपनर ब्याट्सम्यान स्टिफन डोहेनीले उत्कृष्ट शतकीय पाली खेले। उनले टोलीका लागि एक सय सात रनको योगदान गरे। यस क्रममा उनले एक सय २९ बलको सामना गरी दुई छक्का र आठ चौका पनि हिर्काए।
पिटर मुरले पनि टोलीको खातामा ४४ रन थपे। तेस्रो नम्बरमा क्रिज समाल्न आएका पिटरले केवल २५ बलको सामना गरी पाँच छक्का र दुई चौका पनि हिर्काए। मोर्गन टपिङले २१ रन जोडे। गाभिन होए भने १४ रन बनाउँदै पेभेलियन फर्किए। फियोन ह्यान्डले टोलीको खातामा २० रन थपे।
म्याथ्यू हमफ्रेयसले २३ रन जोडे। तल्लो क्रमका ब्याट्सम्यान बेन ह्वाइटले पनि अविजित १९ रन बनाए। आयरल्यान्डका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन्। आयरल्यान्डले अतिरिक्त रुपमा पनि १८ रन पाएको थियो। नेपाली टोलीका बलर रंजित कुमारले तीन विकेट लिए। रिजन ढकालले पनि तीन विकेट हात पारे। साहब आलम र विकास अग्रीले एक–एक विकेट लिए।
तीन खेलको एकदिवसीय शृंखला भने यसअघि नै आयरल्यान्डले जितिसकेको छ। शृंखलाको पहिलो र दोस्रो खेलमा आयरल्यान्ड विजयी भएको थियो। त्यसअघि खेलिएको तीन खेलको टी–२० शृंखलामा पनि आयरल्यान्ड २–१ ले विजयी भएको थियो।