
काठमाडौं— कुशल मल्ल र भीम सार्कीको उत्कृष्ट ब्याटिङ प्रेरित नेपालले एसीसी मेन्स प्रिमियर कप २०२३ मा मलेसियामाथि ६ विकेटको जित हात पारेको छ ।
मलेसियाले दिएको २३६ रनको लक्ष्य पछ्याएको नेपालले ३६ ओभर दुई बलमा २३७ रन बनायो ।
नेपाललका लागि भीम सार्कीले सर्वाधिक ७१ रनको योगदान दिए । उनले ९८ बलको सामना गरेका थिए । यस्तै, ४० बल खेल्दै कुशल मल्लले ४० बलमै ७० रन बनाए । उनी नट आउट रहे ।
क्याप्टेन रोहित पौडेलले ४३ बलमा ४२ रन बनाए । यस्तै, कुशल भुर्तेलले ३१ बलमा ३८ रन जोडे । दीपेन्द्रसिंह ऐरीले नट आउट ५ रन बनाए । ओपनर आशिफ शेख १ रनमा आउट भएका थिए ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर बलिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट लिएर मलेसियालाई २३५ रन दिएको थियो ।
नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान तीन विकेट, ललित राजवंशीले दुई र गुल्सन झाले एक विकेट लिएका थिए ।
मलेसियाका क्याप्टेन अहमद फैजले सर्वाधिक ७६ रन बनाए । उनले ९५ बलको सामना गरेका थिए । यस्तै, ९४ बल खेलेका विरणदीप सिंहले ४६, खिजार हायातले २२, स्याजरुल इद्रुसले २१, मुहम्मद अमिरले १७ रन जोडे । सयद अजिज १३ तथा विजय उन्नी १२ रनमा आउट भए ।