आईपीएलमा गुजरातविरुद्ध पञ्जाबको रोमाञ्चक जित

काठमाडौं — इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाईटन्सविरुद्ध पञ्जाब किंग्सले रोमाञ्चक जित हात पारेको छ। बिहीबार राति सम्पन्न खेलमा पञ्जाबले गुजरातमाथि ३ विकेटको रोमाञ्चक जित दर्ता गरेको हो।
गुजरातले दिएको २०० रनको विशाल लक्ष्य पञ्जाबले १ बल बाँकी रहँदा ७ विकेट गुमाएर पूरा गर्यो। पञ्जाबको जितमा शशाङ्क सिंहले २९ बलमा ६१ रनको विस्फोटक इनिङ खेले।
गुजरातका लागि नूर अहमदले २ तथा अजमतुल्लाह ओमारजाई, उमेश यादव, राशिद खान, मोहित शर्मा र दर्शन नलकण्डेले समान १/१ विकेट लिए।
त्यसअघि अहमदाबादमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९९ रन बनाएको थियो। गुजरातका लागि कप्तान शुभमन गिलले ४८ बलमा ८९ रनको अविजित इनिङ खेले।
पञ्जाबका लागि कागीसो रबाडाले २ तथा हरप्रित ब्रार र हर्षल पटेलले १/१ विकेट लिए।
प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८० ०६:३२