News Griha :: न्यूजगृह
केकेआरसँग दिल्ली क्यापिटल्स १०६ रनले पराजित

काठमाडौं —  इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्स (केकेआर)ले दिल्ली क्यापिटल्स (डीसी) लाई १०६ रनको फराकिलो अन्तरले पराजित गरेको छ।

यो जितसँगै तीन खेलबाट ६ अंक जोडेको केकेआर शीर्ष स्थानमा रहेको छ भने डीसी ४ खेलबाट २ अंक जोडेर ९औं स्थानमा छ ।

केकेआरले  दिएको २७३ रनको विशाल लक्ष्य पछ्याएको डीसी १७.२ ओभर खेल्दै १६६ रनमै अलआउट भयो। डीसीका लागि कप्तान ऋषभ पन्तले ५५ र ट्रिस्टान स्टुब्सले ५४ रन बनाए भने ओपनर डेभिड वार्नरले १८ र पृथ्वी शले १० रन जोडे। त्यसबाहेकका ब्याट्स म्यानले दोहोरो अंक नै जोड्न नसकेपछि डीसी १६६ रनमै समेटिएको हो।

केकेआरका वैभव अरोरा र वरुण चक्रववर्थीले तीनतीन, मिचेल स्ट्राकले दुई र आन्द्रे रसेल र सुनिल नारानेले एकरएक विकेट लिए।

विशाखापट्टनममा टस जितेर पहिला ब्याटिङ रोजेको केकेआरले २० ओभरमा ७ विकेट गुमाउँदै २७२ रन बनाएको थियो। यो आईपीएल इतिहासको दोस्रो ठूलो योगफल हो।

आईपीएलमा यसै सिजनमा सनराइजर्स हैदराबादले मुम्बई इन्डियन्सविरुद्ध २० ओभरमा ३ विकेट गुमाउँदै २७७ रन बनाएको थियो।
उक्त कीर्तिमान तोड्न कोलकातालाई अन्तिम ओभरमा १४ रन चाहिएको थियो। ईशान्त शर्माले ८ रन खर्चेर २ विकेट लिएपछि कोलकाताले उक्त कीर्तिमान तोड्न सकेन।

केकेआरको यसअघि आईपीएलमा उच्च योगफल २०१८ मा पन्जाब किंग्सविरुद्ध २० ओभरमा ६ विकेट गुमाउँदै २४५ रन थियो।

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  ०७:४३
Weather Update