News Griha :: न्यूजगृह
आयरल्याण्डले नेपाललाई दियो १५८ रनको लक्ष्य, कमलसिंह ऐरीको ह्याट्रिक

काठमाडौं — पहिलो एकदिवसीय क्रिकेटमा बुधबार भ्रमणकारी टोली आयरल्याण्ड ‘ए’ ले नेपाल ‘ए’ लाई जितका लागि एक सय ५८ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङको निर्णय लिएको आयरल्याण्डले ३८.३ ओभरमा अलआउट हुनुअघि एक सय ५७ रनमात्र बनाउन सक्यो।

आयरल्याण्डलाई सस्तोमा समेट्न नेपाली टोलीका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। कमलसिंह ऐरी ह्याट्रिकसहित चार विकेट लिए। उनले ६‍.३ ओभरमा एक मेडन राख्दै २१ रन खर्चिए। साहब आलम र मौसम ढकाल पनि दुई/दुई विकेट हात पारेका थिए। रिजन ढकालले पनि आयरल्याण्डका एक ब्याट्सम्यानलाई पेभेलियन फर्काए। 

आयरल्याण्डका लागि केड कार्मिचलले अर्धशतकीय पाली खेले। चौथो नम्बरका ब्याट्सम्यान केडले टोलीको खातामा ५१ रन थपे। यस क्रममा उनले ७७ बलको सामना गरी चार चौका पनि हिर्काए।

कप्तान निल रकले पनि टोलीको खातामा ३९ रन थपे। पाँचौँ नम्बरमा क्रिज समाल्न आएका विकेटकिपर ब्याट्सम्यान निलले ३२ बलमा तीन छक्का र दुई चौका हिर्काए।

आयरल्याण्डका अन्य ब्याट्सम्यानको प्रदर्शन भने सन्तोषजनक रहेन। ओपनर ब्याट्सम्यानद्वय जेम्स म्याककोलुम र स्टिफन डोहेनी भने १२/१२ रन बनाउँदै पेभेलियन फर्किएका थिए। तेस्रो नम्बरका ब्याट्सम्यान पिटर मुरले टोलीको खातामा २१ रन थपे।

उनले ३४ बलमा एक छक्का र एक चौका प्रहार गरे। आयरल्याण्डले अतिरिक्त रुपमा पनि ७ रन पाएको थियो।  

यसअघि खेलिएको तीन खेलको टी–२० शृङ्खलामा भने आयरल्याण्ड ‘ए ’२–१ ले विजयी भएको थियो । 

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १२:४२
Weather Update