News Griha :: न्यूजगृह
आरिफको उत्कृष्ट ब्याटिङमा आयरल्याण्ड ए लाई नेपालले दियो २१४ रनको लक्ष्य

काठमाडौं— अनुभवी ब्याटर आरिफ शेखको उत्कृष्ट ब्याटिङमा नेपाल ए ले तेस्रो तथा अन्तिम टी–२० खेलमा आयरल्याण्ड ए लाई २१४ रनको बलियो लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१३ रन बनायो।

नेपालका आरिफ शेख ४७ बलमा ७ चौका र ६ छक्कासहित ९३ रनमा नट आउट रहे। कमलसिंह ऐरी ७ बलमा २ चौका र १ छक्कासहित १९ रनमा नट आउट रहे।

नेपालले ओपनर लोकेश बमलाई ८, देव खनाललाई ६ र विनोद भण्डारीलाई ११ रनमा गुमाएको थियो। चौथो विकेटका लागि बसिर अहमद र आरिफ शेखले ४७ रनको साझेदारी गरेका थिए। बसिर २१ बलमा ३ चौकासहित १९ रनमा एलबीडब्लू आउट भए।

पवन सरार्फ १३ र नारायण जोशी १ रनमा आउट भए। राशिद खानले १३ बलमा ३ छक्कासहित महत्वपूर्ण २४ रन जोडेका थिए। आयरल्याण्डका फिन ह्यान्डले २, लियाम म्याकार्थी, म्याथ्यु फस्टर, ग्यारेथ डेलानी र गेभिन होईले १/१ विकेट लिए।

तीन खेलको सिरिजमा नेपाल सुरुवाती दुई खेल २१ रन र ४० रनले पराजित हुँदा सिरिज गुमाई सकेको छ।

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १५:००
Weather Update