News Griha :: न्यूजगृह
नेपालले गुजरातलाई ८ विकेटले हरायो

काठमाडौं— त्रिकोणात्मक टी–२० क्रिकेट शृंखला खेल्न भारत भ्रमणमा रहेको नेपाली टोलीले पहिलो खेलमा गुजरातलाई आठ विकेटले हराएको छ। गुजरात भारतको राज्यस्तरीय टोली हो।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरातले १८.२ ओभरमा अलआउट हुनुअघि ९८ रनमात्र बनायो। जबाफी ब्याटिङमा नेपालले १५.२ ओभरमा केवल दुई विकेट गुमाएर लक्ष्य पुरा गरेको हो।

नेपालका लागि अनिल साहले ३५ बलमा अविजित ३२ रनको योगदान गरे। कप्तान रोहित पौडेलले पनि २६ बलमा अविजित ३३ रन बनाए। ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले १६ बलमा १७ रन बनाए। अर्का ओपनर आसिफ शेखले पनि १६ बलमा १६ रन जोडे। गुजरातका बलर तेजस पटेल र हेमांग पटेलले एक/एक विकेट लिए।

त्यसअघि गुजरातलाई ठुलो लक्ष्य बनाउन नदिन नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेका थिए। नेपालका लागि गुलसन झा एक्लैले चार विकेट लिए। यसक्रममा उनले चार ओभरमा २२ रन खर्चिएका थिए। उनले १४औँ ओभरको तेस्रो र पाँचौँ बलमा लगातार दुई विकेट लिएका थिए। 

नेपालका लागि करण केसीले पनि तीन विकेट हात पारे। उनले ३.२ ओभरमा २२ रन खर्चिए। सोमपाल कामीले पनि एक विकेट लिए। गुजरातका दुई ब्याट्सम्यान भने रन आउट भएका थिए। गुजरातका लागि ओपनर ब्याट्सम्यान रुद्र पटेलले २३ रन बनाएका थिए।
छैटौँ नम्बरका ब्याट्सम्यान हेमांग पटेलले पनि टोलीको खातामा २० रन थपे।

अभिषेक देसाइले ११ रन बनाए। समित पटेलले १० रन बटुले। गुजरातले अतिरिक्त रुपमा केवल दुई रन पायो। नेपालले दोस्रो खेल अप्रिल २ तारिखमा बरोडासँग खेल्नेछ। 

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १७:५७
Weather Update