
काठमाडौं— नेपाल ‘ए’ ले आयरल्याण्ड ‘ए’ विरुद्ध लगातार दोस्रो हार बेहोरेको छ। शनिबार भएको दोस्रो टी–२० खेलमा नेपाल ४० रनले पराजित भएको हो।
२ सय २५ रनको लक्ष्य पाएको नेपालले १७.५ ओभरमा १ सय ८४ रन मात्र बनाउन सक्यो । अघिल्लो खेलजस्तै यो खेलमा पनि मध्यक्रमका ब्याटर चल्न नसक्दा नेपालले हारको सामना गर्नुपर्यो।
नेपाललाई ओपनरद्वय लोकेश बम र देव खनालले उत्कृष्ट सुरुवात दिलाएका थिए। बमले १३ बलमा २५ रन बनाए। उनले यसक्रममा ३ चौका र २ छक्का हिर्काए।
त्यस्तै, खनालले २५ बलमा ४७ रन बनाए। उनले ७ चौका हिर्काएका थिए। कप्तान विनोद भण्डारीले १३ बलमा एक चौका र ३ छक्का हिर्काउँदै २६ रनको योगदान दिए।
मध्यक्रममा बासिल अहमदले २३ बलमा २७ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले खासै ठुलो योगदान दिन सकेनन्।
आयरल्याण्डका लागि बेन ह्वाइटले ४ ओभरमा २९ खर्चेर ३ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले पिटर मुर र निल रकको विस्फोटक ब्याटिङको मद्दतले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय २४ रन बनाएको थियो।
आयरल्याण्डका लागि पिटर मुरले ६५ रनको शानदार इनिङ्स खेले। उनले मात्र २६ बलमा ३ चौका र ७ छक्का हिर्काए।
कप्तान निल रकले ३४ बलमा ७१ रनको विस्फोटक इनिङ्स खेले। उनले एक चौका र ७ छक्का प्रहार गरे। त्यस्तै, जेम्स म्याकोलमले २६ रन, फियोन ह्यान्डले १९ रन तथा रस अदिरले १७ रनको योगदान दिए।
नेपालका लागि सागर ढकालले ३ विकेट लिए। उनले ४ ओभरमा मात्र ३३ रन खर्चिए। त्यस्तै कमल ऐरी र पवन शर्राफले एक–एक विकेट लिए।