![त्रिशूलीमा ट्याक्सी खस्दा पाँचको मृत्यु [अपडेट]](https://newsgriha.com/uploads/posts/1_taxi_accident_trishuli_1-1711768220.jpg)
चितवन— काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी शनिबार बिहान ७:१५ बजे त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।
बा २ झ ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित त्रिशूली नदीमा खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।
दुर्घटनामा पाँच जनाको मृत्यु भएको कार्यालयका मुग्लिनका इन्स्पेक्टर विशाल तामाङले जानकारी दिए। उनका अनुसार मृत्यु हुनेमा एक बालिका, २ पुरुष र २ महिला छन्। यसअघि एक जनाको शव फेला परेको थियो।
मृतकको पहिचान खुलिनसकेको उनले बताए। 'मुग्लिन नजिकै दुर्घटना भएको हो। ट्याक्सी त्रिशूली नदी किनारमा खसेको छ,' उनले भने, 'अहिलेसम्म पाँच जनाको शव फेला पारेको छौं। थप खोजी जारी छ।'
ट्याक्सीमा कति जना सवार थिए भन्ने खुलिनसकेको उनले बताए। प्रारम्भिक अनुसन्धानबाट ट्याक्सीमा ५ जना रहेको खुलेको थियो। थप एक जना सवार रहेको हुनसक्ने प्रहरीको अनुमान छ। थप खोजी कार्य भइरहेको तामाङले बताए।