News Griha :: न्यूजगृह
आयरल्याण्ड ‘ए’ दोस्रो खेलमा ७१ रनले पराजित, २ खेलको सिरिज नेपालको पक्षमा

काठमाडौं— आयरल्याण्ड वुल्भस (आयरल्याण्ड ‘ए’) विरुद्धको टी–२० सिरिज नेपालले जितेको छ। त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा पनि आयरल्याण्ड ‘ए’लाई ७१ रनले पराजित गरेपछि नेपालले सिरिज २–० ले आफ्नो पक्षमा पारेको हो।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर १९८ रनको विशाल योगफल तयार पारेको थियो। जवाफी ब्याटिङमा उत्रिएको आयरल्याण्ड १८.३ ओभरमा सवै विकेट गुमाएर १२७ रनमा रोकिन पुग्यो।

पहिला ब्याटिङ गर्दा घरेलु टोली नेपालका लागि कुशल भुर्तेल र आशिफ शेखले राम्रो सुरुआत गरेका थिए। पहिलो विकेटका लागि ३४ रनको साझेदारी गर्दै आशिफ आउट भएका थए। आशिफले ११ बलमा १२ रनको पारि खेल्दा १ छक्का र १ चौका प्रहार गरेका थिए।

त्यसपछि दोस्रो विकेटको रुपमा कुशल भुर्तेल पभेलियन फर्किए। १६ बलमा २५ रनको पारी खेलेका भुर्तेलले समान २ छक्का र २ चौका प्रहार गरे। तेस्रो विकेटको रुपमा अनिल साह आउट भएका थिए। अनिलले ११ बलमा १२ रन बनाएका थिए। अनिल साह आउट हुँदा नेपालले ६.५ ओभरमा ५६ रन बनाएको थियो। त्यसपछि गुलशन झा र कप्तान रोहित पौडलले नेपालको पारी उकासे। 

१३.५ ओभरमा १२७ रन भएका बेला गुलशन चौथो विकेटको रुपमा आउट भए। ३२ बलमा ४६ रन बनाएका गुलशनले ४ छक्का र १ चौका प्रहार गरेका थिए। गुलशन आउट भएपछि रोहित र कुशल मल्लले पनि राम्रो साझेदारी गरे। रोहित २४ बलमा ५ चौकाको मद्दतले ३३ रन बनाएर आउट भए।

कुशल मल्लले १३ बलमा ३४ रनको आक्रमक पारी खेले। उनले ४ छक्का र १ चौका प्रहार परे। सन्दीप जोराले १० बलमा २१ रनको पारी खेल्दा विवेक यादवले नटआउट ७ रन बनाए। 

नेपालविरुद्ध आयरल्याडका म्याथु फोस्टरले ३ तथा वेन ह्वाइटले २ विकेट लिएका थिए।

१९९ रनको विशाल लक्ष्यसहित मैदान उत्रिएको आयरल्याण्डले सुरुआत उत्कृष्ट गरे पनि मिडिल अर्डरमा ब्याटरहरु टिक्न नसक्दा अन्ततः १८.३ ओभरमा १२७ रन बनाउँदा अलआउट भयो। आयरल्याण्डका लागि स्टेफ दानीले सर्वाधिक २६ रन बनाउँदा मार्गन टोपिङले २१ रन जोडे। त्यसैगरी केड काम्पेलले १८ रन बनाउँदा रस एडिर र नेइल राकले १७–१७ रन जोडेका थिए। ग्रेथ डेलेनी १५ रनमा आउट भएका थिए। 

आयरल्याण्डविरुद्ध नेपालका कुशल मल्ल र सोमपाल कामीले ३–३ विकेट लिए। यस्तै, करण केसी, विवेक यादव र कुशल भुर्तेलले १–१ विकेट लिए। 

नेपालको सिनियर टिम विश्वकप तयारीका लागि भारत जाँदैछ। नेपाल भ्रमणमा रहेको आयरल्याण्डसँग अब नेपालको ‘ए’ टिमले ३–३ खेलको टी–२० र एक दिवसीय सिरिज खेल्ने छ। ए टिमको कप्तानी भने विनोद भण्डारीले गर्नेछन्।

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १७:०१
Weather Update