
काठमाडौं— किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी दोस्रो टी– २० क्रिकेटमा नेपालले आयरल्यान्ड उल्भस ‘ए’ लाई जितका लागि एक सय ९९ रनको ठूलो लक्ष्य दिएको छ।
टस जितेर पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ९८ रन बनाएको हो।
नेपालका लागि गुल्सन झाले ४६ रन जोडे। उनले ३२ बलमा १ चौका र ४ छक्का प्रहार गरे। त्यसअघि ओपनरद्वय कुशल भुर्तेल १६ बलमा २ चौका र २ छक्काको मद्दतमा २५ रन र आसिफ शेख ९ बलमा १ चौका र १ छक्काको मद्दतमा ११ रनमा आउट भए।
यस्तै आजको खेलमा मौका पाएका अनिलकुमार साहले ११ बलमा २ चौका प्रहार गर्दै १२ रन जोडे।
कप्तान रोहितकुमार पौडेलले २४ बलमा ५ चौका प्रहार गर्दै ३३ रन जोडे। आक्रामक ब्याटिङ गरेका कुशल मल्लले १३ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै ३४ रन बनाए।
अन्तिम बलमा आउट भएका सन्दीप जोराले १० बलमा २१ रन जोड्दा विवेक यादवले नटआउट ७ रन जोडे।