News Griha :: न्यूजगृह
पहिलो खेल जितेको नेपालले आज आयरल्याण्डसँग दोस्रो खेल खेल्दै

काठमाडौं— नेपाल भ्रमणमा रहेको आयरल्याण्डले टी—२० सिरिजको दोस्रो खेल आज खेल्दैछ। नेपाल र आयरल्याण्डबीचको खेल दिउँसो एक बजेपछि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ। 

सोमबार आयरल्यान्ड ‘ए’ विरुद्धको खेलमा नेपालले जित निकालेको थियो। दुई खेलको सिरिजमा आजको खेल अन्तिम हो। हिजोको खेलमा जित निकाल्दै नेपाल १-० ले अगाडि छ। 

पहिलो खेलमा नेपालले आयरल्याण्डलाई पराजित गरेको छ। आयरल्याण्डले दिएको १२२ रनको लक्ष्य पछाएको नेपालले १६ दशमलव १ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गर्न सफल भयो। 

नेपालको जितमा सन्दीप जोराले ३६ रन बनाएका थिए भने कुशल भुर्तेलले अविजित ३७ रन बनाए। त्यस्तै आसिफ सेखले १६ रन बनाएका थिए भने दिपेन्द्र सिंह ऐरीले अविजित २० रन बनाए। गुल्सन झाले चार रन जोडे भने कप्तान रोहित पौडेल शून्यमा आउट भएका थिए।

त्यसैगरी ग्यारेथ डेलानीले २ विकेट लिएका थिए भने बेन ह्वाइट र थोमस मायेसले एक एक विकेट लिएका थिए। यसअघि टस जितेर पहिला ब्याटिङ गरेको आयरल्याण्ड वोल्भ्सले २० ओभरमा अल आउट हुँदै १२१ रन बनाएको थियो।

आयरल्याण्डका स्टेफेन डोहेनीले सर्वाधिक ४६ रन बनाएका थिए भने थोमस मायेज र लियाम म्याकार्थीले १६-१६ रन बनाएका थिए।

त्यसैगरी नेपालका ललित राजवंशी, गुलशन झा र कुशल भुर्तेलले २-२ विकेट लिए भने करण केसी र कुशल मल्लले एक एक विकेट हात पारे।

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  ०६:३८
Weather Update