News Griha :: न्यूजगृह
म्याच फिक्सिङ्को अभियोग लागेका कीर्तिमानी क्रिकेटर मेहबुब र आदिलले पाए उन्मुक्ति

काठमाडौं— मेहबुब आलम र क्रिकेटर आदिल अन्सारीलगायतका क्रिकेटरले म्याच फिक्सिङको आरोपबाट उन्मुक्ति पाएका छन्। जिल्ला अदालत काठमाडौंले अभियोग दाबी नपुगेको भन्दै उनीहरूलाई सफाइ दिएको हो। 

न्यायाधीश कमलप्रसाद पोखरेलको एकल इजलासले आलम र अन्सारीसहित ५ जनालाई निर्दोष ठहर गरेको छ। सफाइ पाउने अन्यमा ३ जनामा नितेश साह गुप्ता, नवीन कँडेल र रवि माझी छन्। उनीहरूविरुद्ध गत वर्षको फागुन ५ गते मुद्दा दायर भएको थियो।

उनीहरूमाथि गत वर्षको ९ पुसदेखि २७ सम्म कीर्तिपुर मैदानमा भएको नेपाल टी–२० लिगमा स्पट फिक्सिङ् गरेको आरोप लागेको थियो। 

नेपाली राष्ट्रिय टोलीका सदस्य अन्सारी, पूर्वसदस्य आलम र नितेश गुप्ता यसपछि माघमा पक्राउ परेका थिए। त्यसको तीन महिनापछि जनही तीन लाख रुपैयाँ धरौटीमा छुटेका उनीहरूले सोमवार फैसला आउँदा सफाइ पाएका हुन्। आलमले आदिलसहित केही क्रिकेटरलाई स्पट फिक्सिङको प्रस्ताव गरेको अभियोग पत्रमा दाबी गरिएको थियो। 

आलम कीर्तिमानी खेलाडी हुन्। उनले गिनिज बुकमा नाम लेखाएका छन्। सन् २००८ मा मोजाम्बिकविरुद्ध ७.५ ओभरमा १ मेडनसहित १२ रन खर्चेर १० विकेट लिँदै उनी सीमित ओभरको अन्तर्राष्ट्रिय खेलमा १० विकेट लिने विश्वको एक्लो खेलाडी बनेका हुन्।

अर्कोतिर आदिल पनि सम्भावना बोकेका खेलाडी थिए। तर फिक्सिङमा परेसँगै करिअर धरापमा परेको थियो।

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १९:४३
Weather Update