
काठमाडौं— दुई टी–२० शृंखला अन्तर्गतको पहिलो खेलमा नेपालले आयरल्याण्ड ‘ए’लाई ६ विकेटले पराजित गरेको छ। आयरल्याण्ड ‘ए’ले दिएको १२२ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
नेपालका लागि ओपनर कुशल भुर्तेलले नटआउट ३७ रन बनाए। ३२ बलको सामना गरेका उनले ४ चौका प्रहार गरे।
यस्तै, सन्दीप जोराले ३६ रन बनाए। ३५ बलको सामना गरेका सन्दीपले ३ चौका र १ छक्का प्रहार गरे। दीपेन्द्रसिंह ऐरीले नटआउटठ २० रन बनाए भने आसिफ शेखले १६ रन बनाए।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको आयरल्याण्ड ‘ए’ले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाएको थियो। आयरल्यान्डका लागि ओपनर स्टेफन डोहनीले सर्वाधिक ४६ रन बनाए। ३९ बलको सामना गरेका उनले ४ चौका र २ छक्का प्रहार गरे।
आयरल्याण्डका अन्य ब्याटरले भने खासै राम्रो रन बनाउन सकेनन्।
आयरल्याण्डविरुद्ध नेपालका लागि ललित राजबंशी, गुलशन झा र कुशल भुर्तेलले समान २–२ विकेट लिए। यस्तै, करण केसी र कुशल मल्लले १ विकेट लिए।