
काठमाडौं— इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले विजयी सुरुआत गरेको छ। आइतबार भएको पहिलो खेलमा राजस्थानले लखनउ सुपर जायन्ट्स लाई २० रनले पराजित गरेको हो।
जयपुरमा टस जितेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित ओभरमा ४ विकेट गुमाएर १९३ रन बनाएको थियो। जवाफमा लखनउले निर्धारित ओभरमा ६ विकेट गुमाएर १७३ रनमात्रै बनाउन सक्यो।
लखनउका कप्तान केएल राहुल र निकोलस पुरनको अर्धशतकीय पारि खेर गयो। राहुल ४४ बलमा ५८ रन बनाएर आउट भएका थिए भने निकोलस पुरनले अन्तिमसम्म टिक्दै ६४ रनको नटआउट अर्धशतकीय पारि खेले। यसैगरी दीपक हुड्डाले २६ रन बनाउँदा अन्य व्याटरले दोहोरो अंकमा रहन बनाउन सकेनन्।
राजस्थानका ट्रेन्ट बोल्टले २ विकेट लिँदा नान्द्रे ब्रुगर, रविचन्द्रन आश्विन, युजवेन्द्र चहल र सन्दीपम शर्माले एक एक विकेट लिए।
पहिला ब्याटिङ गर्दा सुरुआत राम्रो गर्न नसके पनि राजस्थानका कप्तान सन्जु सामसन र रियान परागको पारि उत्कृष्ट रह्यो। ओपनिङ आएका जोस बटलरले ११ रन बनाएर पहिलो विकेटको रुपमा आउट भएका थिए।
त्यसपछि अर्का ओपनर यसश्वी जयसवाल १२ बलमा २४ रन बनाएर पभेलियन फर्किए। कप्तन सामसन र पराग मिलेर राजस्थानको पार अघि बढाए।
यी दुई खेलाडीबीच ५९ बलमा ९३ रनको साझेदारी भएपछि राजस्थान ठूलो स्कोरतर्फ अघि बढेको थियो। पराग २९ बलमा ४३ रन बनाएर तेस्रो विकेटको रूपमा आउट हुँदा राजस्थानले १४.५ ओभरमा १४२ रन बनाएको थियो।
कप्तान सामसनले नटआउट ८२ रन बनाए। उनले ५२ बलमा ६ छक्का र ३ चौका प्रहार गरे। त्यसैगरी सिमरोन हटमायरले ५ रन जोड्दा कप्तानसँगै ध्रुव जुरेलले १२ बलमा २० रनको नटआउट पारि खेले।
लखनउका नभिन उल हकले दुई विकेट लिँदा रवी विश्नोइ र मोसिन खानले एक एक विकेट हात पारे। जितसँगै राजस्थान रोयल्सले तालिकामा २ अंक जोडेको छ।