News Griha :: न्यूजगृह
लेख्न उत्प्रेरणा भर्ने परशु दाइ...

परशु प्रधान नेपाली साहित्यमा चलेको नाम हो। भोजपुरमा जन्मिएका प्रधानले चैत ५ गते (सोमबार) राति काठमाडौंमा अन्तिम श्वास फेरे। कथा लेखनमा नयाँ पुस्तालाई भित्र्याउन प्रयास गर्ने, नयाँ अभ्यास गर्न खोज्ने र सिर्जनशील रहन खोज्ने व्यक्तिका रुपमा प्रधानलाई समकालीनले चिन्ने गरेका छन्। जीवनको उत्तरार्द्धका केही वर्ष साहित्यिक गतिविधिविहीन भए पनि प्रधान बाल्यकालदेखिनै साहित्यका क्रियाकलापमामा क्रियाशील थिए।

भोजपुरमा सानै उमेरदेखि परशु प्रधानको साहित्यिक कार्यक्रममा सहभागिता बाक्लो रहन्थ्यो। उनी आफैँ आयोजक भएर धेरै साहित्यिक कार्यक्रमको आयोजना गर्थे। साहित्यिक सिर्जनामा प्रधानले भोजपुरमा उछाल नै चलाएका थिए। त्यही बेला जुन कार्यक्रममा उनी सहभागी भए पनि एउटा आफैँले लेखेको कविता ठूलो स्वरमा वाचन गर्ने गरेका थिए। संगीत र साहित्यमा गर्विलो चिनारी बनाएका गणेश रसिक भन्छन्, ‘चुम्बकीय प्रहार भयो, असह्य भो...असह्य भो... असह्य भो...। यो परशु दाइले जुनसुकै कार्यक्रम सञ्चालन भए पनि ठूलो स्वरमा भन्ने कविताको अंश हो। उहाँले भन्ने यो कविताको पूरा अंश मलाई थाहा थियो। तर अहिले बिर्सेछु। त्यति बेला हामी सानै कच्चै उमेरका रहेछौँ। खासै यो वाक्यांशको अर्थ धेरै थाहा थिएन। तर पछि सम्झँदा त्यतिबेलाको स्थानीय समाजको वस्तुस्थितिलाई अध्ययन गरी लेख्नुभएको रहेछ।’ 

कविता लेखनबाट साहित्यिक यात्रा थालेका प्रधानले किशोरावस्थामा नै कविता लेख्थे। पछि उनले कथालाई आफ्नो रोजाइ बनाए। प्रेमिल कविता लेख्ने उनले ‘जीवन पथ’ लेखे। कविता लेखनमा उनी तीव्र रूपले कलम चलाउने कवि रहेको उनका समकालीन बताउँछन्। कुनै समय एकै रातिमा २०/२२ वटा कविता लेख्ने क्षमता उनमा थियो।

६ दशक अघिको समयमा भोजपुरमा हुने साहित्यिक समारोहको अगुवाइ प्रधानले नै गरेका हुन्थे। उनीसँगै शैलेन्द्र साकार, मेघराज मञ्जुल, गणेश रसिक, हिरण्य भोजपुरे, कृष्ण जोशीलगायतका युवाको सहभागिता रहन्थ्यो। यी कार्यक्रम साहित्यमा लाग्नेलाई उत्साह र उत्प्रेरणा दिने खालका हुन्थे।

रसिकले प्रधानलाई २०१६ सालमा भेटेका रहेछन्। उनी माध्यमिक विद्यालय पढ्न कक्षा ६ मा भर्ना भएको विद्यालयबाट प्रधान एसएलसी दिएर सोही विद्यालयमा पढाउन थालेका थिए। १४ वर्षको उमेरमा एसएलसी परीक्षामा सहभागी भएर राम्रो अंक ल्याएर उत्तीर्ण हुने विद्यार्थी परशु थिए। विद्यालयमा हुने गतिविधिको सम्झना गर्दै उनी भन्छन्, ‘म मेरो विद्यालयमा भएका सरहरूको नाम सम्झन्छु तर उहाँहरूले मलाई पढाएको विषय सम्झन सकिरहेको छैन। परशु दाइ विद्यालयमा पढाउन आएको साहित्यिक गतिविधिमा सहभागी भएको याद छ। मैले उहाँसँग धेरै सिकेको छु। मेरो लेखन विकासमा उहाँकै योगदान छ। मैले उहाँबाट नै कथा लेख्न सिकेको हो। उहाँ मेरो कथा लेखनको मेन्टर नै हो।’  

धेरै कथाकारका ‘मेन्टर’

लेखनमा उत्प्रेरणा भर्ने प्रधानले धेरैलाई साहित्यिक गतिविधिमा सक्रिय हुन सिकाए। आफूमात्र होइन आफ्नो नजिक रहेका र साहित्यिक चेत भएका जोकोहीका उनी प्रेरणाका स्रोत थिए। लेख्नुपर्छ, सामाजिक रूपान्तरण अभियानमा सहभागी हुनुपर्छ। समाजको सामाजिक, आर्थिक, भौतिक विकासमा विचार सम्प्रेषण गर्न लेखनलाई बढाउनुपर्छ भन्ने मान्यता प्रधानको थियो। 

प्रधान धेरै कथाकारको ‘मेन्टर’का रुपमा छन्। साहित्यकारमा साहित्यिक रुचि बढाउने, कथा लेखनमा सहजीकरण गर्दै कथा शिल्पी सिकाउने प्रधानलाई योगदान अनुसारको सम्मान भएको रसिकको बुझाइ छ। भन्छन्, ‘१०/१० वटा कथा संग्रह निकाल्नु चानचुने विषय होइन। समकालीन कथाकारसँग तुलना गर्दा उत्कृष्ट कथा छन्। मैलै सबै कथा त पढेको छैन। जति पढेँ मलाई उत्कृष्ट लागे। तर उहाँको योगदानको कदर भएन। मसहित धेरै कथाकारका उहाँ मेन्टर नै हो। भन्न लजाउँछन्। सँगै हामीमा समकालीन साहित्यिक व्यक्तित्वलाई स्वीकार गर्ने परम्परा छैन। त्यसैले योगदान अनुसार सम्मान भएन भन्ने मलाई लाग्छ।’

प्रधानलाई कथा लेखनको मेन्टर मान्छिन् कथाकार मन्दिरा मधुश्रीले पनि। उनले भनिन्, ‘प्रधानका कथाहरू आफूले धेरै पढेको र तिनै कथाबाट सिकेर आफूले लेख्न थालेकी हुँ।’

साहित्यकार नरेन्द्रराज प्रसाईँले आख्यानकारका माझमा प्रधान आफैँमा एउटा सिङ्गो एकेडेमी भएको बताएका छन्। उनले नेपाली आख्यान क्षेत्रका एक अविश्रान्त शिल्पी परशु प्रधानको निधनले साहित्यमा लाग्ने जोकोहीलाई स्तब्ध तुल्याएको बताए।  

साहित्यकार तथा अनुसन्धाता प्रमोद प्रधानले कथाको एउटा युगको अवसान भएको बताएका छन्। उनले सामाजिक सञ्जालबाट भनेका छन्, ‘लेखनमा प्रयोग रुचाउने, नयाँ पुस्तालाई  सीधैं उत्प्रेरित गर्ने र साङ्गठनिक नेतृत्वका माध्यमबाट साहित्यिक गतिविधिलाई अघि बढाउने जस्ता कार्यमा उहाँको योगदान कहिल्यै बिर्सन सकिन्न। डल्लेखोला, तिम्रो कथा लेखे निर्मला !, टोकियोको सानो बुद्ध, मारिजुवानाको देशमा, समुद्रमा अस्ताएको सूर्य, सीताहरूको कथा–शृङ्खला लगायतका उत्कृष्ट कथाहरूले उहाँलाई सधैँ सम्झाई रहनेछन्।’  

कथासाहित्यसँगै साहित्य सेवामा ६ दशक समर्पित गरेका परशु प्रधानका १३ वटा कथाकृति प्रकाशित छन्। बक्ररेखा, फेरि आक्रमण, एउटा अर्को दन्त्यकथा, असम्बद्ध, समुद्रमा अस्ताउने सूर्य, प्रतिनिधि कथाहरू, एउटा क्रान्ति पुरुषको जन्म, कथा र रचनागर्भ, उत्तरार्ध, द लिटिल बुद्ध इन टोकियो, परशु प्रधानको उत्कृष्ट कथा, नेपलिज लभ स्टोरी र धनियाँ रहेका छन् । 

उनका दर्जनको सङ्ख्यामा बालकथा प्रकाशित छन्।  नानीको कथा, सुनको छाती, रीताको स्कुललगायतका बालकथा भित्र पर्दछ। प्रधानका सीताहरू र घर कथोपन्यास पनि प्रकाशित छ। 

000

क्रान्तिकारी विवाहले छोडायो भोजपुर

भोजपुरमा जन्मिएका प्रधानले आफ्नो साहित्यिक, जागिरे जीवन पनि भोजपुरबाटै सुरु गरेका हुन्। उनले जीवन साथी रोज्ने क्रममा भने क्रान्तिकारी कदम चालेपछि भोजपुर छोड्नुपर्ने बाध्यता आयो।  

प्रधानकी प्रेमिका जानुका रेग्मीसँगै पढ्थे गणेश रसिक। जानुकालाई भेट्न जाँदा प्रधानले रसिकलाई पनि साथी लिएर जाँदा रहेछन्। जानुकासँगको भेटमा प्रधानले पढ्ने तरिका सिकाउने, यसरी पढ भन्ने गरेको सम्झिन्छन् रसिक। उनले भने, ‘मलाई पनि सँगै लिएर जानुहुन्थ्यो परशु दाइले। सायद एक्लै भेट्दा अप्ठ्यारो लागेर होला। तर मलाई त्यतिबेला उहाँहरूबीच माया प्रेम छ भन्ने चाहिँ थाहा थिएन। पछि उहाँहरू दुवै जना हराउनुभयो भन्ने सुनेपछि मात्र मैले पहिलाका कुरा र भेट सम्झेँ।’ 

भोजपुरमा रहँदा प्रधानले क्रान्तिकारी  कदम चालेको स्मरण गर्छन् रसिक। ‘मेरो साथी थिए कौशल रेग्मी। उनकै परिवार सदस्य हुन् भाउजू जानुका रेग्मी। कौशलबाटै थाहा भयो कि जानुका बाल विधवा हुन्। एक नेवारको छोराले बाहुनको छोरी बिहे गर्ने, त्यसमा पनि बाल विधवालाई आफ्नो बनाउने उहाँको क्रान्तिकारी आँटलाई समाजले नस्वीकार्ला भनेर उहाँले भोजपुर छाड्नुभएको होला जस्तो लाग्छ,’ रसिकले भने, ‘बनारस बस्नुभएको सुनियो। पछि उहाँ भोजपुरकै दिङ्ला आएर त्यही पढाउनुभयो। त्यही बेला दिङ्लाको परिवेश अनुसार एउटा उपन्यास पनि लेख्नुभयो। भाउजू पनि बाल साहित्यमा अब्बल हुनुहुन्छ। उहाँले साहित्यिक नाम कल्पना प्रधान राख्नु भएछ।’

त्यतिबेलाको कानुनअनुसार उनलाई १२ वर्ष जेल र श्रीमतीलाई ६ वर्ष जेल सजाय हुन सक्थ्यो, जात नमिलाएर अन्तरजातीय विवाह गर्दा। त्यसैले आफूले मन पराएकी जानुकालाई लिएर उनी भोजपुरबाट बेपत्ता भए। उनी मोरङ हुँदै बनारससम्म पुगे। २०२० साल भदौ १ गते नयाँ मुलुकी ऐनले बाटो खोलेपछि मात्र उनी भोजपुर फर्किए। 

जागिरको उत्तरार्द्ध निरस
लामो समय सरकारी सेवामा बिताएका प्रधान उपसचिव तहबाट अवकाश लिएका थिए। उनी लोकसेवा आयोगका तत्कालीन अध्यक्ष सन्तबहादुर राईको स्वकीय सचिवका रुपमा थिए। प्रधानको जागिरे जीवनका क्रममा पटक पटक भेटेका रसिकले लोकसेवाको कार्यालयमा पनि प्रधानसँग भेटघाट भएको बताए। 

‘सन्तबहादुर राई मेरो भेना हो। उहाँलाई भेट्न जाँदा परशु दाइसँग भेट भयो। त्यहाँको भेटमा भने खासै व्यक्तिगत कुरा भने हुन पाएन। उहाँ सारै व्यस्त हुनुहुन्थ्यो। मैले दाइको हालखबर सोध्थेँ। उहाँले मेरो,’ रसिकले भने, ‘उहाँको मनोभाव बुझ्दा मलाई लागेको लोक सेवा आयोगको अध्यक्षको स्वकीय बनेपछि सहसचिवमा नाम निकाल्नेमा उहाँ विश्वस्त हुनुहुन्थ्यो। तर त्यसो भएन। उहाँले परीक्षा पनि दिनुभयो। तर नाम निस्केन। पेन्सन भइसकेको थियो। त्यहीबाट राजीनामा दिनुभयो।’

अवकासपछिको जीवन पनि संघर्षपूर्ण नै रह्यो प्रधानको। उनी साहित्यिक र संस्थागत संलग्नतालाई प्यारो ठान्थे। जागिरे जीवनमा पनि उनको साहित्यिक र संस्थागत मोहका कारण बेला बेला विवादित बन्थ्यो। जे भए पनि उनको साहित्यिक मोह कुनै बेला हराएन। उनी लामो समय छिन्नलता गीत पुरस्कार गुठीमा रहेर काम गरे। कवि वासुशशीको निधनपछि  वासु शशि स्मृति ग्रन्थ प्रकाशनमा प्रधानको विशेष योगदान छ। सिद्धिचरण प्रतिष्ठानमा पनि सक्रिय रहेका उनले विराटनगरमा वाणी प्रकाशनको खोले। साझा प्रकाशनकै झल्को दिने गरी खोलिएको यो प्रकाशनले लय लिन सकेन। 

बसोबास विराटनगर नै बनाउने गरी गएका परशु प्रधानको वाणी प्रकाशनलाई बन्द गर्नुपर्ने अवस्था आउनुको कारण सम्झँदै रसिक भन्छ्न्, ‘लामो समय सरकारी सेवामा रहेको व्यक्तिले निजी लगानीमा कुनै व्यवसाय चलाउन अलि गाह्रो हुँदो रहेछ। (आफू भोजपुर, काठमाडौं हुँदै इलाम पुगेको सन्दर्भ सुनाउँदै...) सरकारी सेवामा हुँदा सरकारी स्रोत साधन चलाइएको हुन्छ। त्यति धेरै अभावको महसुस नहुने तर आफू जुट्दा सँधै आर्थिक अभाव हुने। बनाएको योजना अनुसार काम नहुने अनि त के सोच्यो के हुने।’

खोटाङमा सीडीओ भएर काम गर्दा, काठमाडौंमा मध्यमाञ्चल विकास क्षेत्रको शिक्षा अधिकारी भएर काम गर्दा प्रधानलाई भेटेका रसिकले भने, ‘केही गरौँ भन्ने हुटहुटी सँधै भइराख्ने परशु दाइले अवकासपछि धेरै कोसिस गर्नुभयो। तर त्यति सफल हुन सक्नुभएन। अनेक कुरा बाधक भएर आए। हुन त जीवनमा के के गर्छु भन्ने सोच्यो भनेको जसरी कहाँ काम गर्न सकिँदो रहेछ त।’ 

000

भोजपुरमा २००० सालमा जन्मिएका परशु प्रधान सानैदेखि तीक्ष्ण क्षमताका थिए। १४ वर्षको उमेरमा एसएलसी उत्तीर्ण गरेका उनले आफैँले अध्ययन गरेको विद्यालयमा सहायक शिक्षक भएर काम गरे। 

लेखेर नथाक्ने प्रधानलाई आख्यानकारका खम्बाका रुपमा चित्रण गरिन्छ। प्रधानका जीवनका आरोह अवरोध पनि उत्तिकै छन्। साहित्यिक सिर्जना र अभियानका क्रममा गरेका भोगेका संघर्ष, वैवाहिक जीवनपछिको संघर्ष, भोजपुरबाट मोरङ हुँदै भारतको बनारस अनि काठमाडौंको संघर्ष। जागिरे जीवनका अथक प्रयास। विराटनगरमा वाणी प्रकाशन खोल्न गरेको सङ्घर्षले समाजका लागि केही गरौँ भन्ने हुटहुटीलाई सम्झाउँछ।

साहित्य सिर्जनाको लेखनलाई प्रोत्साहन गर्ने प्रधानलाई नै कृतिको विमोचन नेपालमा भित्र्याउने श्रेय जान्छ। २०३४ सालमा ऋषिराज बरालको उपन्यास ‘भावना’ बागबजारस्थित राम दाइको भट्टीमा विमोचन गर्ने सूत्रधारका रुपमा प्रधान थिए।  पछि भारतीय अभ्यासलाई नेपालमा प्रयोग गर्दै विमोचन संस्कृति नेपालमा व्यापक बन्दै गयो। 

जीवनको उत्तरार्द्धमा प्रोस्टेटको समस्यासँग लडिरहेका प्रधानको चैत ५ गते सोमबार राति ८० वर्षको उमेरमा निधन भयो। स्वास्थ्य समस्याकै कारण केही वर्षदेखि साहित्यिक गतिविधिमा शून्यता छाएको थियो। अब भने आख्यानको एक खम्बा ढलेको छ। उनका समकालीनले पनि एउटा चलायमान, गतिशील एवं सिर्जनामा रमाउने व्यक्तिको अभाव महसुस गरिरहेका छन्। उनको लेखन र साहित्यिक क्षेत्रमा रुचि राख्नेलाई उत्साह जगाउने सीप नयाँ पुस्तामा अनुकरण हुन जरुरी छ।

000

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १५:००
Weather Update