
काठमाडौं— हाजिर जमानीमा रिहा भएका पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा केही दिन अस्पतालमै रहने भएका छन्।
पारिवारिक स्रोतका अनुसार महरालाई केही दिन अस्पतालमा राखिने छ।
'स्वास्थ्य अवस्थाका कारण चिकित्सकको सल्लाहअनुसार उहाँ (महरा) अझै केही दिन अस्पतालमै राख्ने छौँ,' पारिवारिक स्रोतले भन्यो।
यो पनि पढ्नुहोस
सुन तस्करीमा कसरी जोडिएका थिए महरा?
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंको सहमतिमा केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई शुक्रबार हाजिर जमानीमा छोडेको थियो।
इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुन बारे अनुसन्धान गर्न प्रहरीले महरालाई सोमबार कपिलवस्तुबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो।
ब्युरोका अनुसन्धान अधिकृतहरूले दुई दिन लगातार महराको बयान लिएका थिए। स्वास्थ्यका कारण नर्भिक अस्पतालमा भर्ना भएका महरालाई ब्युरोका अनुसन्धान अधिकृतहरूले बुधबार र बिहीबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा ल्याएर बयान गराएका थिए।














