News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
सुन तस्करीमा कसरी जोडिएका थिए महरा?

काठमाडौं— चिनियाँ नागरिकको योजनामा नेपालमा हुने गरेको सुन तस्करीमा संलग्नता देखिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्ण बहादुर महरा पक्राउ परेका छन्। प्रहरीले उनलाई सोमबार कपिलवस्तुबाट पक्राउ गरेको हो। 

कपिलवस्तुबाट पक्राउ परेका महरालाई जहाजमार्फत् काठमाडौं ल्याइएको छ। उनीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गर्नेछ। 

ब्रेक प्याड तथा भेपमा लुकाएर ल्याइएको सुन तस्करीमा महराको संलग्नता यसअघि नै खुलेको थियो। तर तत्कालीन अवस्थामा सीआईबीले महरासहित राजनीतिक व्यक्तिहरुलाई संरक्षण गर्नेगरी अनुसन्धान गरेपछि त्यसको विरोध भएको थियो। उक्त सुन तस्करीबारे जाँचबुझ गर्न गठित उच्चस्तरीय आयोगले महरासहितलाई मुद्दा चलाउनुपर्ने सिफारिस गरेको थियो। आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेपछि गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँग अनुमति लिएका थिए। प्रधानमन्त्रीले महरासहित छानबिन प्रतिवेदनले दोषी देखाएका र अनुसन्धान गर्नुपर्ने सिफारिस भएका सबैलाई कानुनी दायरमा ल्याउन निर्देशन दिएका थिए। 

Prabhu Bank

महरा कसरी जोडिए सुन तस्करीमा? 
२०७९ पुस १० गते फ्लाई दुबईको जहाजबाट नेपाल आएका चिनियाँ नागरिक ली हासनले भेपमा लुकाएर ल्याएको सुन तस्करीको अनुसन्धानका क्रममा महराको संलग्नता खुलेको थियो। 

फ्लाई दुबईको जहाजबाट नेपाल आएका चिनियाँ नागरिक लीले बोकेको ब्यागेजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु आगमन कक्षको एक्सरे मेसिन जाँच गर्दा ब्यागेजभित्र शंकास्पद बस्तु देखिएको थियो। खोलेर हेर्दा ब्यागेजभित्र ठूलो परिमाणमा विद्युतीय चुरोट (भेप) भेटिएको थियो। 

ठूलो मात्रामा भेटिएको भेप व्यापारिक मालबस्त हुनसक्ने र भन्सार राजस्व असुल गर्नुपर्ने भन्दै भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो। त्यतिबेला भन्सार कार्यालयले चिनियाँ नागरिक लीको राहदानी समेत नियन्त्रणमा लिएको थियो। तर पछि राहदानी फिर्ता दिइयो र चिनियाँ नागरिक भेप विमानस्थलमै छाडेर चीन फर्किएका थिए। 

यसबीचमा उक्त भेप छुटाउनका लागि भन्दै विभिन्न व्यक्तिहरु विमानस्थल भन्सार कार्यालय धाउने गरेका थिए। त्यसरी धाउनेमा माओवादी नेता तथा पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुल पनि थिए। यस्तै, पूर्व सभामुख महराले समेत उक्त भेप छुटाउनका लागि तत्कालीन भन्सार प्रमुखलाई फोन गरेका थिए। 

Gold_Smuggling_Chart-1710740658.jpg
भेपमा भएको सुन तस्करीको अनुसन्धानका क्रममा सीआईबीले बनाएको चार्ट। उक्त चार्टमा माओवादी नेता तथा पूर्व सभामुख महराले चिनियाँ नागरिकसँग पटक–पटक सम्पर्क गरेको देखिन्छ। 

भन्सार कार्यालयले लामो समयसम्म नियन्त्रणमा लिएर राखेको उक्त भेप पछि भने लिलामी गर्ने भन्दै प्रक्रिया अगाडि बढायो। तर लिलामीको प्रक्रिया थाल्दा चिनियाँ नागरिकले ल्याएको भेप गायव पारिएको देखियो। जसको सट्टामा उस्तै देखिने, तर उत्पादक कम्पनी फरक भएको भेप त्यहाँ राखिएको थियो। 

भेप साटिएको देखिएपछि भन्सार कार्यालयले आन्तरिक अनुसन्धान अगाडि बढायो। आन्तरिक अनुसन्धानका क्रममा उक्त भेपमा सुन लुकाएर ल्याइएको विषय पनि पत्ता लाग्यो। तर भन्सार कार्यालयले आन्तरिक अनुसन्धान थाल्दा सुन भने भन्सारका कर्मचारीहरुले विभिन्न व्यक्तिसँग मिलेर बेचिसकेका थिए। त्यसपछि भन्सार कार्यालयले उक्त विषयमा छानबिनका लागि भन्दै सीआईबीलाई पत्राचार गरेको थियो। 

भन्सार कार्यालयको पत्राचारपछि उक्त सुन तस्करीबारे अनुसन्धान सुरु गरेको सीआईबीले भन्सार कार्यालयका नायव सुब्बा रेवन्त खड्का, सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६ घर भएका भन्सार एजेन्ट दिनेश बस्नेत, सुनसरीको धरान उपमहानगरपालिका–२ घर भइ काठमाडौंको न्यूरोडमा घडी पसल सञ्चालन गर्दै आएका वेदप्रकाश अग्रवाल, भारतको महाराष्ट्र घर भएका व्यापारी साहेब राव पाण्डुरङ मरगले, सिन्धुपाल्चोककै सुनकोशी–६ का अमृत कार्की, पोखरा महानगरपालिका–४ घर भइ विमानस्थलमा  सुरक्षा गार्डको काम गरेका निर्मलकुमार विकलाई पक्राउ गरेको थियो। 

पक्राउ परेकाहरुको बयानअनुसार सुरुमा भेपभित्र सुन भएको जानकारी सुरक्षा गार्ड निर्मलकुमार विकले थाहा पाएका थिए। 

२०७९ पुस १० गते नियन्त्रणमा लिएर राखिएको भेपलाई खोलेर कारबाही प्रक्रिया अगाडि बढाउन भन्दै पुस २६ गते भन्सार कार्यालयको मुद्दा शाखामा पुर्‍याइएको थियो। भेप राखिएको सुटकेश विकले नै बोकेर मुद्दा शाखासम्म पुर्‍याएका थिए। मुद्दा शाखामा उक्त सुटकेश खोलेर हेरिएको थियो, जसक्रममा एउटा सुटकेशको चेन बिग्रिएको थियो। कानुन शाखामा काम सकिएपछि चेन बिग्रिएकोसहित दुवै सुटकेश बोकेर विकले नै गोदाम पुर्‍याएका थिए। गोदाम पुर्‍याउने क्रममा चेन बिग्रिएको सुटकेशबाट एउटा भेप भुइँमा झरेको थियो। जुन भेप उनले भुइँबाट टिपेर आफ्नो गोजीमा राखेका थिए। 

गोजीमा राखिएको भेप विकले आफ्नो कोठामा लगे। त्यहाँ लगेर बटनहरु थिचेर चलाउन खोजे, तर चलेन। धुँवा निस्किन्छ कि भनेर उनले तान्न खोजे, धुँवा पनि निस्किएन। त्यसपछि ब्याट्री भएको ठाउँमा खोलेर हेर्दा एउटा प्लास्टिकमा बेरिएको अवस्थामा सुन जस्तो देखिने पहेँलो धातुको डल्लो भेटिएको थियो। जसलाई उनले सुन पसलमा लगेर जाँच गरे, जाँच गर्दा सुन नै भएको पुष्टि भयो। 

त्यसपछि उनले अरु भेपमा पनि सुन हुनसक्ने भन्दै सबै भेप आफूले पाउने प्रयास थाले। भन्सार कार्यालयमै बुझ्दा उनले उक्त भेप लिलामीको प्रक्रियामा जानेसक्ने जानकारी पाए। त्यसपछि भन्सारबाट हुने लिलामीको सामान किन्ने बब्लु गुप्ता नाम गरेका व्यक्तिलाई उक्त भेपमा सुन भएको र त्यसलाई लिलामीमा सकार्न भने। बब्लुले भन्सारका नासु रेवन्त खड्का तथा भन्सार एजेन्ट दिनेश बस्नेतसँग आफ्नो राम्रो चिनजान रहेको बताए। बब्लुले नै भन्सारका नासु खड्कालाई भेपभित्र सुन छ भनेर जानकारी दिए। 

त्यसपछि रेवन्तले भेपलाई डिस्पोज गर्नुपर्ने सामान हो भन्दै भन्सार कार्यालयको गोदामबाट नजिकै रहेको १११ नम्बरको कोठामा सार्न लगाए। उक्त कोठामा सीसीटीभी क्यामेरा नभएका कारण उनले त्यहाँबाट सजिलै सुन निकाल्ने योजना बनाएका थिए। त्यसपछि रेवन्त र भन्सार एजेन्ट दिनेशले सबै भेप खोलेर त्यहाँबाट सुन निकाले। पुरानो भेपलाई टुक्रा–टुक्रा पारे डिस्पोज गरे। त्यसको ठाउँमा नयाँ भेप किनेर ल्याएर राखे। 

सीआईबीलाई दिएको बयानमा भन्सार एजेन्ट दिनेशले उक्त सुन रेवन्तको सहयोगमा आफूले नै निकालेर बेच्न लगेको र बेच्ने क्रममा जोख्दा ९ किलो तौल मापन भएको बताएका थिए। उनले सबै सुन लगेर वेदप्रकाश अग्रवाललाई बुझाएका थिए। अग्रवालले नै उक्त सुन किन्नका लागि भारतीय नागरिक (व्यापारी) साहेब राव पाण्डुरङ मरगलेलाई भेटाइदिएका थिए। नन्दुकुमारले न्यूरोडस्थित बटुमा ‘टन्च हाउस’ (सुन जाँच्ने कार्यालय) सञ्चालन गरेका थिए। 

दिनेशले सुन बेचेर ६ करोड रुपैयाँ मिलेको बयानमा बताएका थिए। जसमध्येको ६५ लाख रुपैयाँ रेवन्तलाई दिएको उनको बयान छ। यस्तै, बब्लु गुप्तालाई तिर्नुपर्ने २० लाख रुपैयाँ ऋण तिरेको पनि उनले बयानमा बताएका छन्। बब्लु र रेवन्तलाई दिएसकेपछि बाँकी रहेको रकम मध्येबाट २ करोड ७५ लाख रुपैयाँ हालेर आफ्ना ससुरा केशव थापाको नाममा भक्तपुरको मध्यपुर ठिमी नगरपालिकाअन्तर्गत पर्ने दिव्येश्वरी प्लानिङ भित्रको जग्गा किनेका थिए। दिनेशले उक्त पैसाबाटै आफ्ना भाइ दिपेशलाई ८ लाख र जग्गा खरिद गरिदिने दलाललाई पनि ८ लाख दिएको बयानमा बताएका छन्। ४ लाख रुपैयाँ भने सुकुटे बिच रिसोर्टमा पुगेर खर्च गरेको उनले बयानमा बताएका छन्। 

चिनियाँ नागरिकले भेपमा लुकाएर ल्याएकोमध्ये प्रहरीले करिब १०० ग्राम हाराहारी मात्रै सुन बरामद गरेको थियो। उक्त सुन पनि सुरक्षा गार्ड निर्मलकुमार विकबाट बरामद भएको थियो। उनले भेपबाट निकालेको सुनबाट सिक्री बनाएको तथा केही टुक्रा अलग्गै राखेको अवस्थामा प्रहरीले बरामद गरेको थियो। 

उक्त सुन तस्करी प्रकरणमा सीआईबीले गरेको अनुसन्धानबाट माओवादी नेता महाराको सुन ल्याउने चिनियाँ ब्यापारीसँग पटक–पटक सम्पर्क भएको भेटिएको थियो। यस्तै, महाराका छोरा राहुलको पनि चिनियाँहरुसँग सम्पर्क भएको भेटिएको थियो। 

सीआईबीको अनुसन्धानबाट सुन तस्करीमा चिनियाँ नागरिक ली र दाओजिङ वाङको मुख्य भूमिका रहेको खुलेको थियो। तस्करीका मुख्य नाइके दुवै चिनियाँ नागरिकसँग महराले पटक–पटक फोन गरेको खुलेको थियो। 

भेपमा लुकाएर भएको सुन तस्करीको मुद्दा अदालत टेकिसकेपछि राजस्व अनुसन्धान विभागको टोलीले गत साउन ३ गते, काठमाडौंको सिनामंगलबाट ठूलो परिमाणमा सुन बरामद गरेको थियो। क्याथे प्यासिफिकको उडानमा कार्गोमार्फत् हङकङबाट स्कुटरको ब्रेक प्याडको रुपमा भित्रिएको सुन विमानस्थलको भन्सारबाट जाँचपास भइसकेको अवस्थामा विभागले बरामद गरेको थियो। बरामद हुँदा १०० किलोभन्दा बढी भनिएको उक्त सुन पछि गालेर जोख्दा ६० किलो ७१६ ग्राम तौल मापन भएको थियो। 

राजस्व अनुसन्धान विभागले प्रारम्भिक अनुसन्धान गरेको उक्त सुन तस्करी प्रकरणबारे पनि पछि सीआईबीले अनुसन्धान गरेको थियो। सीआईबीको अनुसन्धानबाट पनि ब्रेक प्याडमा भएको सुन तस्करीमा भेपमार्फत् भएको सुन तस्करी गरेको चिनियाँहरुको समूह नै संलग्न रहेको पाइएको थियो। जुन चिनियाँसँग पूर्व सभामुख महराको पटक–पटक सम्पर्क भएको देखिएको थियो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  ११:२४
Weather Update