News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
काण्डैकाण्डका नाइके महरा

काठमाडौं— नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका खास हुन् उपाध्यक्ष कृष्णबहादुर महरा। महरा जनयुद्धकालदेखि नै प्रचण्डका लागि ‘खास’ थिए। उनी पार्टीभित्र प्रभावशाली नेताको रुपमा कहलिन्छन्। तर, उनको व्यक्तित्व भने ‘नेता’ भन्न लायक पनि छैन। किनकि उनी काण्डैकाण्डमा मुछिएका व्यक्ति हुन्। विभिन्न प्रकरणमा जोडिएर बदनाम हुने, तर कसुरदारका रुपमा हुने कारबाहीबाट भने उन्मुक्ति पाउने गरेका महरा पछिल्लो समय सुन तस्करीमा संलग्न रहेको देखिएपछि पक्राउ परेका छन्। 

सुन तस्करी प्रकरणमा यसअघि भएको अनुसन्धानबाट संलग्नता खुलेपनि उनलाई प्रहरीले भने संरक्षण नै गरेको थियो। तर उच्च अदालतका पूर्व न्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले मुद्दा नै चलाउन सिफारिस गरेपछि सरकारले उनलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिनु परेको हो। तर यसअघिका काण्डमा जस्तै सुन तस्करी प्रकरणमा पनि महराले उन्मुक्ति पाउने हुन कि? भन्ने आम आशंका पनि छ। 

सुन तस्करी प्रकरणमा मुछिएपछि महराले रोचक स्पष्टीकरण दिएका थिए। सुन तस्करीमा संलग्न चिनियाँ व्यापारीलाई आफूले ७ वर्षदेखि फलफूल व्यापारीका रूपमा मात्र चिनेको र आफूले उनैसँग फलफूल लिने गरेको महराको दाबी थियो। तर सुन तस्करी प्रकरण जाँचबुझ गर्न बनेको उच्चस्तरीय आयोगले महरा सुन तस्करी प्रकरणमा प्रत्यक्ष संलग्न रहेको ठहर गरेको थियो। जसआधारमा उनीमाथि मुद्दा चलाइनुपर्ने भन्दै आयोगले  सिफारिस गरेको थियो। सोही प्रतिवेदनअनुसार महरा सोमबार पक्राउ परेका हुन्। कल डिटेल रेकर्ड प्रतिवेदनले महराका बाबुछोरा र सुन तस्करीका मुख्य अभियुक्त ली हानसङबीचको सम्बन्ध उनले भनेजस्तै ‘फलफूल व्यापारी’सँगको सम्बन्धमा मात्र सीमित रहेको देखाउन्न। 

Prabhu Bank

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुन बरामद भएपछि महराले २२ पटक र उनका छोरा राहुलले २३४ पटक अभियुक्तसँग फोन सम्पर्क गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रतिवेदनमा उल्लेख थियो। तर पनि महराले उन्मुक्ति पाएका थिए।

महरा विवादमा परेको यो पहिलो प्रकरण होइन। यसअघि पनि उनी पटकपटक विभिन्न अपराध र विवादमा मुछिएका छन्। उनीमाथि २०६४ साल तिर माओवादी लडाकुको अस्थायी शिविरका लागि निकासा भएको ५२ करोड रुपैयाँमा भ्रष्टाचार भएको आरोप छ। भलै, रकम महराले बुझे पनि पार्टी अध्यक्षका हैसियतमा प्रचण्ड पनि यसमा जोडिन्छन्। नक्कली लडाकु देखाएर माओवादीले उनीहरूको नामको रकममा भ्रष्टाचार गरेको आरोप छ। सो अनियमिततासम्बन्धी मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनुसन्धानकै क्रममा रहेको बताइन्छ। लामो समय अख्तियारमा थन्किएकाले यो प्रकरणमा पनि महराले उन्मुक्ति पाइरहेका छन्। 

पार्टी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउनका लागि ‘सांसद संख्या पुर्‍याउन’ चिनियाँ व्यापारीसँग ५० करोड मागेको अडिओले महरा विवादमा तानिएका थिए। त्यसमा पनि कुनै छानबिन भएन। २०६७ मा माधव नेपालले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि तत्कालीन कांग्रेस नेता (हालका राष्ट्रपति) रामचन्द्र पौडेल र प्रचण्डले प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गरेका थिए। संविधान सभामा साना दलहरू धेरै भएकाले ‘सांसद किनेरै भए पनि’ प्रधानमन्त्रीका लागि समर्थन जुटाउने माओवादी रणनीति थियो। त्यसका लागि महराले चिनियाँ व्यापारीसँग सहयोग मागेका थिए। १७ पटक चुनाव हुँदा पनि पौडेल र प्रचण्डले बहुमत पुर्‍याउन नसकेपछि तत्कालीन एमाले अध्यक्ष झलनाथ खनालको नेतृत्वमा माओवादीसहितको सरकार गठन भएको थियो।  

महरा जोडिएको सबैभन्दा ठूलो प्रकरण हो– बलात्कार काण्ड। २०७६ सालमा प्रतिनिधि सभाको सभामुख रहेकै समयमा महरा मदिराको बोत्तल बोकेर संसद्‌ सचिवालयकी महिला कर्मचारीको डेरामा पुगेका थिए। त्यहाँ पुगेर उनले ती कर्मचारीमाथि बलात्कार प्रयास गरेको विषय सार्वजनिक भएको थियो। उक्त घटना सार्वजनिक भएपछि महरा पक्राउ परे। प्रहरीले महरालाई सभामुखको सरकारी निवास बालुवाटारबाटै पक्राउ गरेको थियो। बलात्कार प्रयासको घटनामा जोडिएपछि उनले पदबाट राजीनामा दिएका थिए। 

महरा ३० दिन प्रहरी हिरासतमा रहे। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले महराविरुद्ध ५ देखि ७ वर्षसम्मको जेल सजाय र क्षतिपूर्ति माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। जिल्ला अदालतले थुनछेक आदेश सुनाउँदै महरालाई पुर्पक्षका लागि कारागार पठाएको थियो। तर, मुद्दाको पूर्ण सुनुवाइपछि काठमाडौं जिल्ला अदालतले उनलाई निर्दोष ठहर गर्‍यो। पीडित महिलाले अदालतसमक्ष गरेको बकपत्र र फरेन्सिक रिपोर्टका आधारमा महरालाई दोषी ठहर गर्न नसकिने निष्कर्षसहित अदालतले उनलाई सफाइ दिएको थियो। 

महराविरुद्ध बलात्कार प्रयासको जाहेरी दिने संसद् सचिवालयकी कर्मचारीले अदालतसमा बकपत्र गराउँदा भने पीडित महिलाले महराले आफूमाथि बलात्कार प्रयास नगरेको बयान दिएकी थिइन्। त्यस्तै, औंठा छापलगायत फरेन्सिक जाँचको रिपोर्टबाट पनि महरा उक्त घटनामा संलग्न नभएको देखिएको अदालतको ठहर थियो। मुद्दाको पुर्पक्षका लागि १०३ दिनसम्म कारागारमा बसेका महरा अदालतले निर्दोष ठहर गरेपछि रिहा भएका थिए। 

पछि जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी पक्ष उच्च अदालत पनि गएको थियो। उच्च अदालत पाटनले  महराविरुद्धको अभियोगमा दाबी नपुग्ने भन्दै जिल्ला अदालतकै फैसला सदर गर्दै सफाइ दियो। तर उक्त प्रकरणमा पीडितलाई दबाब र प्रलोभनमा पारी बयान फेर्न लगाई महरालाई जिल्ला र उच्च अदालतबाट सफाइ दिइएको भन्दै अहिले पनि आम चर्चा हुने गर्छ। 

महरा विभिन्न प्रकरणमा मुछिए पनि पार्टी राजनीतिमा भने ‘पावर एक्सरसाइज’ गर्ने तहमा नै रहे। माओवादीको आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिले २०७९ असारमा महरालाई पार्टीको उपाध्यक्ष बनायो। पार्टी उपाध्यक्ष मात्रै होइन, महरा समानुपातिकबाट प्रतिनिधि सभा सदस्य समेत बने। माओवादीले समानुपातिक तर्फका उम्मेदवार टुंग्याउँदा खस–आर्यको सूचीमा महराको नाम पहिलो नम्बरमै राखिएको थियो। जसको चर्को विरोध पनि भएको थियो। तर माओवादीले उनलाई समानुपातिक सांसद बनाएरै छाड्यो।  

पार्टी राजनीतिमा जहिले पनि अध्यक्ष प्रचण्डसँग निकट रहेर काम गरेका महराले विभिन्न विवादमा जोडिँदा पनि पार्टीबाट सहयोग नै पाए। बलात्कार प्रयास जस्तो गम्भीर आरोप लागेर पनि राजनीतिमा फर्किएर, पार्टीमा ‘पावर एक्सरसाइज’ गरेका महरा अहिले आफ्नै पार्टीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएका बेला सुन प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका छन्। तर उनीमाथिको अनुसन्धान निष्पक्ष र तथ्यगत हुनेमा भने धरैले आशंका नै गर्छन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १८:१०
Weather Update