News Griha :: न्यूजगृह
सुन तस्करीबारे महराको बयान: चिनियाँ नागरिकलाई फलफूल व्यापारीका रुपमा चिन्दछु

काठमाडौं— नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरा सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका छन्। सोमबार बिहान कपिलवस्तबाट पक्राउ परेका महरालाई काठमाडौं ल्याएर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआई)बीको हिरासतमा राखिएको छ। 

चिनियाँ नागरिकको प्रत्यक्ष संलग्नतामा नेपालमा हुने सुन तस्करीमा महराको नाम पहिले नै सार्वजनिक भएको थियो। १० पुस २०७९ मा फ्लाई दुबईको उडानबाट काठमाडौं उत्रिएका चिनियाँ नागरिक ली हासनले भेपमा लुकाएर ल्याएको सुन छुटाउन महाराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुखलाई फोन नै गरेका थिए। यस्तै, महराका छोरा राहुल महरा सुन लुकाएर ल्याइएको उक्त भेप छुटाउन भन्सार कार्यालय नै पुगेका थिए। 

Prabhu Bank

सीआईबीले गरेको अनुसन्धानबाट उक्त सुन तस्करीमा चिनियाँ नागरिक ली हासन र दाओजिङ वाङको मूख्य संलग्नता रहेको खुलेको थियो। पूर्व सभामुख महराले सुन तस्करीमा मुख्य नाइके भनिएका दुवै चिनियाँ नागरिक ली हासन र दाओजिङ वाङसँग पटक–पटक फोन सम्पर्क गरेको खुलेको थियो। 

तस्करीको सुन छुटाउन विमानस्थल प्रमुखलाई नै फोन गरेको तथा तस्करीका नाइकेसँग पटक–पटक सम्पर्कमा रहेको देखिएपछि सीआईबीले महरालाई पनि अनुसन्धानको दायरमा ल्याएको थियो। तर त्यतिबेला उनको बयान मात्रै लिएर छाडिएको थियो। 

पछि सुन तस्करीको सत्यतथ्य पत्ता लगाउन उच्च अदालतका पूर्व न्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले महराविरुद्ध पनि मुद्दा चलाउन सिफारिस गरेको थियो। सुन तस्करी प्रकरणबारे ५ महिना अनुसन्धान गरेको आयोगले केही दिन अगाडि मात्रै सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको थियो। 

आयोगको प्रतिवेदनमा सुन  तस्करीबारे यसअघि सीआईबीले गरेको अनुसन्धानमा गम्भीर त्रुटि रहेको विषय औंल्याएपछि सरकारले त्यसबारे पुन: छानबिन सुरु गर्न प्रहरीलाई निर्देशन दिएको छ। जसअनुसार अहिले सुन तस्करीमा पुन: अनुसन्धान सुरु गर्दै सीआईबीले महरालाई पक्राउ गरेको छ। 

उनै महराले सुन तस्करी प्रकण र त्यसमा आफ्नो संलग्ता रहेको भन्ने तथ्यबारे सीआईबीमा बयान दिएका थिए। महराको बयान यस्तो छ:  

२०७९ पुस १० मा फ्लाई दुबईको फ्लाइट नम्बर एफजेड–०५८७ बाट नेपाल आएका चिनियाँ नागरिक लि हासोङ्ग (ली हासन)ले २ वटा सुटकेस भित्र ७३ बट्टामा रहेको ७३० थान इलेक्ट्रिक सिगरेट (भेप) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा जफत भए पश्चात दाओजिन वाङले उक्त सामान त्रिवि भन्सार कार्यालयमा पक्राउ परेको ३ दिन भयो, के भएको हो बुझि दिनु पर्ने भयो भनी मलाई भनेको तथा मैले अरुण पोखरेललाई पहिलेदेखि चिनेको भएको हुनाले के कसो भएको हो, कानुन बमोजिम के गर्न मिल्छ हेरिदिनु होला भनी फोन गरेको हो। मेरो छोरा राहुल भन्ने रेशम महरा के कारणले उक्त इलेक्ट्रिक सिगरेट (भेप) जफत भएको रहेछ, कानुन बमोजिम मिल्ने भए सहयोग गरी दिनु भनी अरुण पोखरेलको सम्पर्कमा गएका हुन्। निज दाओजिन वाङसँग मेरो पुरानो चिनजान हो, निजले मलाई आफू एउटा फलफूल व्यापारीको रूपमा नेपालमा व्यापार गर्ने भनी चिनाएका थिए र निजसँग सामान्य विषयमा फोनमा कुराकानी हुने गर्दथ्यो। यो बाहेक निजसँग अन्य कुनै विषयमा कुराकानी हुने र अन्य कुनै किसिमको सम्बन्ध पनि छैन भन्ने ब्यहोराको कृष्ण बहादुर महराको कागज। 

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १४:०६
Weather Update