News Griha :: न्यूजगृह
बलात्कार मुद्दामा दोषी ठहर भएका ब्राजिलियन स्टार खेलाडी रोबिन्हो पक्राउ, ९ वर्ष जेल जीवन बिताउने 

काठमाडौं— बलात्कार मुद्दामा दोषी ठहर भएका ब्राजिलियन स्टार खेलाडी रोबिन्हो पक्राउ परेका छन्।

४० वर्षीय रोबिन्होलाई ब्राजिलको सान्तोषस्थित घरबाट पक्राउ गरिएको हो। ब्राजिल र बार्सिलोनाका चर्चित फुटबलर ड्यानी अल्भेसलाई बलात्कार मुद्दामा साढे ४ वर्षको कैद सजाय भएलगत्तै त्यस्तै मुद्दामा रोबिन्हो दोषी ठहर भएका हुन्।

अल्भेस बलात्कारसम्बन्धी मुद्दामा स्पेनी जेलमा सजाय भुक्तान गरिरहेका छन्। बलात्कार मुद्दा लागेका रोबिन्होलाई ९ वर्ष कैद सजाय भएको छ। ब्राजिलको गैरसंवैधानिक मुद्दाको लागि उच्च अदालतले इटालीको अदालतले गरेको निर्णयलाई वैध भएको ठहर गरेको हो।

सन् २०१७ मा इटालीको मिलानको अदालतले रोबिन्हो र अन्य पाँच ब्राजिलियनलाई सन् २०१३ मा डिस्कोमा अत्यधिक मदिरा पिलाएर एक महिलामाथि सामूहिक बलात्कार गरेको मुद्दामा दोषी ठहर गरेको हो। 

सन् २०२० मा पुनरावेदन अदालतले उक्त सजायलाई सदर गरेको थियो। सन् २०२२ मा इटालीको सर्वोच्च अदालतले पनि त्यसलाई मान्यता दिएको थियो।

एसी मिलान, रियल मड्रिड र म्यान्चेस्टर सिटीका लागि खेलिसकेका रोबिन्हो पछिल्लो समय ब्राजिलमै बस्दै आएका थिए। 

रोबिन्होलाई यो मुद्दामा २ वर्षअगाडि पनि सजाय तोकिएको थियो। रोबिन्होलाई झिकाउन नसकिएपछि इटाली सरकारले ब्राजिलको जेलमै राख्न त्यहाँस्थित सरकारलाई भनेको थियो। 

पछिल्लो पटक ब्राजिलका स्टार खेलाडीहरूमाथि बलात्कारसम्बन्धी मुद्दाले पछ्याउन थालेको छ। 

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १३:४२
Weather Update