News Griha :: न्यूजगृह
आईपीएल शुक्रबारदेखि, उद्घाटन खेलमा चेन्नई र बैङ्ग्लोर भिड्ने

काठमाडौं— विश्वकै सर्वाधिक चर्चित र लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग आईपीएल शुक्रबारदेखि सुरु हुँदै छ। आईपीएलको उद्घाटन खेलमा चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैङ्ग्लोर आमनेसामने हुनेछन्।

प्रतियोगिता सुरु हुनुभन्दा अगाडि चेन्नईले सर्वाधिक सफल कप्तान महेन्द्रसिंह धोनीको विकल्प खोजेको छ। अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका धोनी फ्रेन्चाइज क्रिकेट आईपीएल भने खेल्दै आएका छन्। 

धोनीको ठाउँमा चेन्नाईले ऋतुराज गायकवाड लाई कप्तान बनाएको छ। धोनीको नेतृत्वमा रहेको चेन्नईले गत सिजनको फाइनल खेलमा गुजरात जाइन्ट्सलाई पराजित गर्दै उपाधि जितेको थियो। 

धोनीले कप्तानी छाडेको यो पहिलो पटक भने होइन। टिमले यसअघि २०२२ को सिजनमा पनि कप्तान परिवर्तन गरेको थियो। त्यतिबेला अलराउन्डर रवीन्द्र जडेजा कप्तान भएका थिए। तर, चेन्नईको लगातार खराब प्रदर्शनपछि जडेजाले राजीनामा दिएपछि पुन: धोनी नै कप्तान भएका थिए।

चेन्नईका नयाँ कप्तान गायकवाड सन् २०१९ मा टोलीमा सामेल भएका थिए। उनले अहिलेसम्म खेलेका ५२ खेलमा १७९७ रन बनाएका छन्।  यस प्रतियोगितामा उनको नाममा एक शतक र १४ अर्धशतक छ। गत सिजन गायकवाडले १६ खेलमा ५९० रन बनाएका थिए। चेन्नईलाई उपाधि जिताउन युवा खेलाडीले महत्वपूर्ण भूमिका खेलेका थिए।

चेन्नई सुपर किङ्सका पूर्व कप्तान महेन्द्रसिंह धोनी आफ्नो आईपीएल करिअरको अन्तिम सिजन खेल्न सक्नेछन्। कप्तानमा अचानक परिवर्तन गरेपछि उनले यो सिजनपछि आईपीएलबाट सन्यासको घोषणा गर्न सक्ने अनुमान गरिएको छ। 

४२ वर्षीय खेलाडी धोनीले चेन्नईका लागि २१२ खेलमा कप्तानी गरे। उनीबाहेक सुरेश रैनाले पाँच खेलमा र रवीन्द्र जडेजाले आठ खेलमा टोलीको नेतृत्व गरेका छन्। 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  २०:५९
Weather Update