News Griha :: न्यूजगृह
बलिउड फिल्म निर्माता बोनी कपुरविरुद्ध उजुरी, के हो विवाद?

काठमाडौं— बलिउड अभिनेता अजय देवगनको ‘मैदान’ लामो समयदेखि चर्चामा आएको फिल्म हो।

अमिता शर्मा निर्देशित फिल्म दर्शकको प्रतीक्षितमा पर्दछ। फिल्मको सार्वजनिक ट्रेलरले पनि दर्शकमाझ कौतुहलता पैदा गरिसकेको छ।

यहीबीचमा फिल्मका निर्माता बोनी कपुर यतिबेला आर्थिक मामलाका कारण विवादमा तानिएका छन्। बिलको भुक्तानी नगरेको भन्दै उनीविरुद्ध उजुरी परेको छ।

एक बिक्रेताले उनीमाथि फिल्म ‘मैदान’को निर्माणका दौरान उपकरणको आपूर्तिका लागि एक करोड रुपैयाँ बिलको भुक्तानी नगरेको आरोप लगाएका छन्।

मेहेराफ्रिन इन्भेस्टमेन्ट प्राइभेट लिमिटेडका निनाद नयामपल्लीले बोनी र फिल्मका सहनिर्माताविरुद्ध उजुरी गरेका हुन्। बिक्रेताले कयौं पटक सम्पर्क गर्दा पनि निर्माताले पैसा भुक्तान गर्न ढिलाइ गरेको र डिसेम्बर २०२० देखि कुनै भुक्तानी नगरेको दाबी गरेका छन्।

‘भुक्तानीको आसमा राखियो, दिइएन। कुनै बाटो नै बचेन र हामीले कानुनको सहारा लियौं। हाम्रो कानुनी नोटिसको कुनै जवाफ नमिल्दा हामी आश्चर्यमा छौं,’ निनादले भनेका छन्।

यता बोनीले कम्पनीलाई केवल ६३ लाख रुपैयाँमात्र भुक्तानी गर्न बाँकी रहेको बताएका छन्। ‘निनादलाई फिल्म रिलिज अघि भुक्तानी गर्ने भनिएको थियो। तर कोरोनाका कारण फिल्म रिलिज हुन सकेन,’ उनले भनेका छन्। 

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  २०:१८
Weather Update