
काठमाडौं— आईसीसी अध्यक्ष ग्रेग बार्कलीले आफ्नो नेपाल भ्रमण अपेक्षाअनुसार राम्रो भएको बताएका छन्।
काठमाडौंमा बुधबार साँझ पत्रकार सम्मेलनको गर्दै बार्कलीले नेपाल सरकार र खेलकुद परिषद् पदाधिकारी क्रिकेटको विकासका लागि सकारात्मक हुनु सुखद रहेको बताए।
‘नेपालको छोटो अवधिको भ्रमण फलदायी रह्यो। यहाँको क्रिकेटको अवस्थालाई लिएर धेरै भेटघाट र बैठक गरियो । प्रधानमन्त्री, खेलकुद मन्त्री, खेलकुद परिषद् पदाधिकारीसँग भेटघाट भए। म सबै प्रति आभार व्यक्त गर्न चाहन्छु,’ उनले भने, ‘सबैजना क्रिकेटप्रति सकारात्मक पाएँ। नेपाली क्रिकेटको प्रगतिप्रति आशावादी हुन सकिन्छ।’
नेपाली क्रिकेटलाई आईसीसीको निरन्तर सहयोग गरिरहेको उनले स्मरण गराए। ‘नेपालको क्रिकेटलाई आईसीसीले हेरिरहेकै छ। हामी कसरी नेपाली क्रिकेट अगाडि बढ्छ भन्नेमा सघाउँदै आइरहेकै छौं,’ उनले भने, ‘भविष्यमा पनि आईसीसीले गर्न सक्ने सहकार्यलाई निरन्तरता दिने नै छ।’
त्यस्तै, पत्रकार सम्मेलनमा नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आईसीसी अध्यक्ष बार्कलीको नेपाल भ्रमणले आईसीसी नेपाली क्रिकेटको विकासका लागि सहयोग गर्न इच्छुक रहेको पुष्टि भएको बताए।
उनले भने, ‘आईसीसी अध्यक्ष नेपाल आएर नेपाली क्रिकेट जगतको विकासका लागि सकारात्मक रहेको सन्देश प्रवाह भएको छ। नेपाल सरकार क्यान पनि प्रेरित भएको छ। हामीमा खेलकुदका संरचनाको विकास र खेलाडीको क्षमता विकासका लागि ऊर्जा मिलेको छ।’
अध्यक्ष बार्कलीले हिजो प्रधानमन्त्री पुष्पकमल दाहालसँगै खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, राखेप सदस्यसचिव टंकलाल घिसिङसँग भेटघाट गरेका थिए। भेटमा प्रधानमन्त्री दाहालले क्रिकेटप्रति नेपाल आशावादी रहेकाले पूर्वाधारमा लगानी बढाएको जानकारी गराएका थिए ।
चारदिने औपचारिक भ्रमणमा नेपाल आएका आईसीसी अध्यक्ष बार्कली बिहीबार फर्किने कार्यसूची छ।