
काठमाडौं— अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)का अध्यक्ष ग्रेज बार्क्लेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गरेका छन्। नेपाल भ्रमणमा रहेका आईसीसीका अध्यक्ष बार्क्लेले बुधबार बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन्।
भेटमा नेपालको क्रिकेट विकासका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सो अवसरमा प्रधानमन्त्री प्रचण्डले आइसीसीका अध्यक्षको भ्रमणले नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा प्राथमिकता र महत्त्व पाएको देखिएको बताए।
प्रधानमन्त्रीले भने, ‘नेपाल सरकारले क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको योजनाका रूपमा निर्माण गर्ने निर्णय गरेर क्रिकेट पूर्वाधारलाई निकै प्राथमिकता दिएको छ। सन् २०२७ को ‘यु–१९ वुमन वर्ल्ड कप’ का लागि नेपाल सरकारले निकै महत्त्व दिएको छ। आइसीसीबाट पनि महत्त्वपूर्ण सहयोग हुने अपेक्षा गरेका छौँ।’
अध्यक्ष बार्क्लेले नेपालको क्रिकेट क्षेत्रको विकासका लागि आईसीसीले सहयोग गर्ने बताएका थिए। भेटमा नेपाल सरकारका मुख्य सचिव बैकुण्ठ अर्याल र नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीको सहभागिता रहेको थियो।