News Griha :: न्यूजगृह
आईसीसी अध्यक्ष बार्कलीलाई राखेप सदस्यसचिवले भने– नेपालमा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न चाहन्छौँ 

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) अध्यक्ष ग्रेग बार्कलीबीच मंगलबार भेटवार्ता भएको छ। 

भेटमा सदस्य सचिव घिसिङले अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा आयोजना गर्ने वातावरण बनाइदिन आग्रह गर्दै नेपाललाई प्राविधिक पक्ष, खेल सामाग्री, हाई पर्फमेन्स तालिम केन्द्र स्थापना लगायत विषयमा सहयोगका लागि आग्रह गरे।

मंगलबार भएको दुईपक्षबीचको भेटको क्रममा नेपाली क्रिकेटको अवस्था, सम्भावना र आईसीसीले नेपाली क्रिकेटलाई गर्न सक्ने सहयोग लगायतका विषयमा छलफल भएको राखेपले जनाएको छ। 

भेटमा सदस्यसचिव घिसिङले एसोसिएट राष्ट्रमा टी–२० क्रिकेटमा नेपालले विगतमा कायम गरेको शीर्ष स्थानलाई आगामी दिनमा पनि कायम राख्न नेपाल प्रयासरत रहेको जानकारी गराए। 

घिसिङले पूर्वाधार विकासमा राज्यले चासो दिएर लगानी गरिरहेको उल्लेख गर्दै नेपाल र बङ्गलादेशले सन् २०२७ मा संयुक्त रुपमा आयोजना गर्ने यू–१९ महिला टी– २० विश्वकपका लागि सहयोगका लागि आग्रह गरे।

‘अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्ने विश्वकप पुरुष टी–२० प्रतियोगिताका लागि आईसीसीले राम्रै सहयोग गरेको मैँले जानकारी पाएको छु। हामीले पनि आईसीसीबाट यू–१९ विश्वकपका लागि त्यस्तै सहयोगको अपेक्षा गरेका छौं। हाम्रो तर्फबाट पनि तयारीमा कुनै कसर बाँकी राख्दैनौं,’ सदस्यसचिव घिसिङले भने। 

सदस्यसचिव घिसिङले नेपालमा क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदा दर्शकको उपस्थिति उत्साहजनक रहेको स्मरण गराउँदै धेरै भन्दा धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा आयोजना गर्ने वातावरण बनाई दिन आग्रह गर्दै नेपाललाई प्राविधिक पक्ष, खेल सामाग्री, हाई पर्फमेन्स तालिम केन्द्र स्थापना लगायत विषयमा सहयोगका लागि पनि आग्रह गरेको राखेपले जनाएको छ। 

अध्यक्ष बार्कलीले एसोसिएट राष्ट्रमा नेपाल फेरि नम्बर एक बन्ने सम्भावना रहेको बताउँदै सीमित स्रोत र साधनको प्रयोगमा पनि नेपाली क्रिकेटले गरेको प्रगति प्रशंसनीय रहेको बताए। 

अध्यक्ष बार्कलीले पूर्वाधारका विषयमा चासो व्यक्त गर्दै नेपाली क्रिकेटको विकास र विस्तारमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। 

आईसीसी अध्यक्ष नेपाल आएको यो पहिलोपटक हो। 

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १६:५२
Weather Update