News Griha :: न्यूजगृह
इटहरी गोल्डकप चैत १० देखि, विजेतालाई १० लाख पुरस्कार 

विराटनगर— अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको १४औं संस्करण चैत १० गतेदेखि हुने भएको छ। 

उद्घाटन खेलमा विभागीय टीम सशस्त्र प्रहरीको एपीएफ र साबिक बिजेता सगरमाथा युथ क्लब मोरङबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

आयोजक राष्ट्रिय जागृति क्लब इटहरीले आज खेल तालिका सार्वजनिक गरेको हो। प्रतियोगिता चैत १९ गतेसम्म हुनेछ। इटहरी रंगशालामा हुने खेलहरु फ्लड लाइटको प्रयोग गरी रात्रिकालीन हुने जनाइएको छ। 

प्रतियोगितामा भारतीय एक टिमसहित ८ वटा टिमले सहभागिता जनाउने निश्चित भएको छ। दोस्रो दिन आयोजक राष्ट्रिय जागृति क्लब र भारतको कञ्चनजंगा फुटबल क्लबबीच खेल हुनेछ। यस्तै, तेस्रो दिन चैत १२ गते विभागीय टिम त्रिभुवन आर्मी र बिर्तामोड युनाइटेड झापाबीच प्रतिस्पर्धा हुनेछ।

चैत १३ गते चर्चब्वाइज युनाइटेड र न्यूरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ। 

प्रतियोगिताका संयोजक अनुरोध थापाका अनुसार प्रतियोगिताको उपाधि विजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ। उपबिजेता टिमले ५ लाख रुपैयाँ पाउनेछ भने सर्वाधिक गोलकर्ता खेलाडीले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ पुरस्कार पाउने छन्। प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले १० हजार रुपैयाँ पाउने छन्।

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  ०८:०३
Weather Update