
काठमाडौं— नेपाली महिला क्रिकेट टीमकी पूर्वकप्तान नेरी थापामगरले क्रिकेटबाट सन्यास लिएकी छन्।
उनले सोमबार सामाजिक सञ्जालमार्फत राष्ट्रिय र अन्तर्राष्ट्रियबाट सन्यास लिएको घोषणा गरेकी हुन्।
‘खेलबाट सन्यास लिएको हो। तर सम्झनाबाट होइन। मेरो यात्रामा मलाई साथ दिने र उत्प्रेरित गर्ने सबैलाई म धन्यवाद दिन्छु। म विशेष गरी मेरो परिवारलाई धन्यवाद दिन्छु जसले मलाई यात्रामा सधैँ साथ दिनुभयो। मलाई आशा छ यो यात्रा क्रिकेटमा संन्यास होस् तर जीवनमा होइन,’ उनले लेखेकी छन्।
नेरी थापाको कप्तानीमा नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेलेको थियो। सन् २००७ को एसीसी महिला च्याम्पियनसिपमा नेपाली महिला राष्ट्रिय टिमको कप्तानी गरेकी थिइन्।
नेरीको कप्तानीमा नेपाली यु-१९ महिला राष्ट्रिय टिमले २००८ र २०१० एसीसी यु-१९ महिला च्याम्पियनसिपको उपाधि जितेको थियो।
नेरी थापा नेपाली महिला घरेलु क्रिकेट इतिहासकै पहिलो शतक बनाउने पहिलो खेलाडी हुन्।
२०७० महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालगञ्जको (तत्कालीन क्षेत्र नम्बर ५) लागि खेल्दै काठमाडौंविरुद्ध १२१ रन बनाउँदै कीर्तिमान कायम गरेकी थिइन्।