News Griha :: न्यूजगृह
विवादबीच संकटासँग एपीएफ पराजित

काठमाडौं— राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा आइतबार विभागीय टोली एपीएफ संकटा क्लबसँग १–० गोल अन्तरले पराजित भएको छ । ललितपुरस्थित च्यासल मैदानमा भएको खेलमा एपीएफले नौ खेलाडीमा सीमित संकटाविरुद्ध फाइदा उठाउन सकेन ।

यससँगै एपीएफले शहीद स्मारक ए डिभिजन लिगमा लगातार दोस्रो हार व्यहोरेको हो । पहिलो हाफमा संकटाका जुनियर एनकुन्गुएले पेनाल्टीबाट गरेको गोल नै निणार्यक बनेको थियो ।

सुरुमा प्रतिस्पर्धात्मक बनेको खेलको २८औं मिनेटमा एनकुन्गुएले पेनाल्टीमार्फत गोल गरे  । एपीएफका विदेशी खेलाडी रक्षक एडमा डोम्बियाले आयुष घलानलाई पेनाल्टी बक्सभित्र लडाएपछि संकटाले पेनाल्टीको पाएको थियो । पछि परेको एपीएफले दोस्रो हाफमा खेलमा फर्किन निकै प्रयास गरे पनि सफल हुन सकेन ।

यसअघि १३ औं मिनेटमा संकटाका निशान खड्काको फ्रिकिक एपीएफका गोलकिपर युरी कुरियामाले बचाएका थिए । ४४औं मिनेटमा पनि निशानको प्रहारमा गोलकिपर कुरियामा नै बाधक बनेका थिए ।

६८औं मिनेटमा दुवै टोली १० खेलाडीमा सीमित हुन पुगे । पहेंलो कार्ड व्यहोरिसकेका एपीएफका दीपेश धिमाल र मनिष डांगीबीच एकआपसमा घम्साघम्सी हुँदा दुवैले दोहोरो पहेंलो कार्ड व्यहोर्दै मैदान छाडेका थिए ।

१० खेलाडीमा झरेको संकटा सात मिनेटपछि नौ खेलाडीमा सीमित बन्यो । रेफ्रीलाई अपशब्द बोलेको भन्दै आन्द्रे थियरी बियिकले दोहोरो पहेंलो कार्ड व्यहोर्दै मैदानबाट बाहिरिए । अन्त्यतिर नौ खेलाडीमा सीमित भएको संकटाविरुद्ध एपीएफले थप फाइदा उठाउन सकेन र अंक सुम्पिन बाध्य बन्यो ।

जितसँगै संकटाले नौ खेलमा चार जित, तीन बराबरी र दुई हारको नतिजासहित १५ अंक जोडेको छ । एपीएफको समान खेलमा तीन जित, दुई बराबरी र चार हारसहित ११ अंक छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  २०:००
Weather Update