सुन तस्करीमा मुछिएका पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार गुरुङ धरौटीमा रिहा
काठमाडौं— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको सुन तस्करीमा मुछिएका जोन भनिने जीवनकुमार गुरुङ रिहा भएका छन्। काठमाडौं जिल्ला अदालतले उनलाई १५ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो।
न्यायाधीश जीवनप्रसाद उपाध्यायको इजलासले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले बताए। उनी पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकारसमेत थिए।
गुरुङविरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले शुक्रबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो।
गुरुङको योजनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १३८ किलो सुन तस्करी भएको दाबी गर्दै भन्सार कार्यालयले अदालतमा मुद्दा दायर गरेको थियो।
गुरुङविरुद्ध भन्सार कार्यालयले १ अर्ब ४० करोड बिगो र ५ वर्ष कैद सजायको माग गरेको थियो।
प्रकाशित मिति: आइतबार, चैत ४, २०८० २१:२८