News Griha :: न्यूजगृह
फेरि सुन तस्करी प्रकरण अनुसन्धान गर्दै सीआईबी, पूरक अभियोग लैजाने

काठमाडौं— प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले भेपमार्फत भएको ९ किलो सुन तस्करी र ६० किलो सुन प्रकरणमा फेरि अनुसन्धान सुरु गर्ने भएको छ। 

ब्युरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीले पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित आयोगले दिएको प्रतिवेदनका आधारमा फेरि अनुसन्धान गरेर पूरक अभियोग लैजाने बताए। 

‘थप अनुसन्धानका लागि जिम्मेवारी प्राप्त भइसकेको छ, त्यसको कार्यान्वयनका लागि गृहकार्य थालिसकेका छौं,’ उनले भने। उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आइतबार गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र एआईजी ज्ञवालीलाई मन्त्रालयमा बोलाएर प्रतिवेदन कार्यान्वयनमा लैजान निर्देशन दिएका थिए। 

गएको बिहीबार आचार्य नेतृत्वको आयोगले गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएको थियो। मन्त्रिपरिषद्ले समेत प्रतिवेदनलाई कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ।

प्रतिवेदनले पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई पनि मुद्दा चलाउन सिफारिस गरेको छ।

२०७९ पुस १० गते फ्लाई दुबईको उडानबाट काठमाडौं आएका चिनियाँ नागरिक ली हासनले भेपमा लुकाएर ल्याएको ९ किलो सुन र २०८० साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय बाहिरबाट बरामद भएको ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरण यसअघि सीआईबीले अनुसन्धान गरेको थियो। उक्त मुद्दा हाल अदालतमा विचाराधीन छ।

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १७:५४
Weather Update