News Griha :: न्यूजगृह
महिला भलिबलमा एपीएफको विजयी सुरुवात

काठमाडौं— आठौं संस्करणको आरबीबी एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा विभागीय क्लब एपीएफले महिलातर्फ विजयी सुरुवात गरेको छ। 

राष्ट्रिय खेलकुद परिषद् राखेपको कर्भडहलमा आइतबार बिहान भएको पहिलो खेलमा एपीएफले मधेस प्रदेशविरुद्ध ३-० को सहज जित निकालेको हो। 

राष्ट्रिय खेलाडी रहेको एपीएफमाथि मधेस प्रदेशले कुनै पनि बेला चुनौती दिन सकेन। एपीएफले पहिलो सेट २५-८ ले आफ्नो पक्षमा पारेको थियो भने दोस्रो सेट २५-७ ले जित्दै आफ्नो पक्षमा पारेको थियो। तेस्रो सेटमा एपीएफले एकतर्फी जित निकाल्न सफल भयो। एपीएफले मधेसलाई १ अंकमा छाडेर २४ अंक बनाएको थियो।

अन्त्यमा एपीएफले २५-२ को सेटमा जित निकाल्दै पहिलो खेल आफ्नो पक्षमा पार्न सफल भयो।

प्रतियोगिता अन्तर्गत आज महिलातर्फ साढे १० बजे नेपाल पुलिस क्लब र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुने छ। यसैगरी पुरुषतर्फ भने आज चार खेल हुने छन्। साढे १२ बजे जावलाखेल भलिबल ट्रेनिङ सेन्टर र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुँदा साढे २ बजे कर्णाली प्रदेश र बुढानिलकण्ठ भलिबल क्लबबीचको खेल हुनेछ। यसैगरी, साढे ४ बजे मणीमुकुन्द भलिबल क्लब र न्युटन चिल्ड्रेन एकेडमी र अन्तिम खेलमा साढे ६ बजे टिपटप हेल्प नेपाल आमने सामने हुने छन्। 

नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा चैत १० गतेसम्म संचालन हुने प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ १३ सहित २० टोलीको सहभागिता छ।

महिलातर्फ समूह ए मा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश र एभरेष्ट भलिबल क्लब रहदा समूह बी मा चन्द्रागीरि नगरपालिका न्यु डायमण्ड भलिबल क्लब, नेपाल एपीएफ क्लब र मधेस प्रदेश रहेका छन्।

पुरुषतर्फ समूह ए मा टीपटप हेल्प नेपाल कोशी प्रदेश र ढोरपाटन क्लब, समूह बी मा नेपाल एपीएफ क्लब, जावलाखेल भलिबल ट्रेनिङ क्लब र सुदूरपश्चिम प्रदेश, समूह सी मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश र बुढानिलकण्ठ भलिबल क्लब तथा समूह डी मा त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, मणिमुकुण्ड भलिबल क्लब र न्युटन भलिबल क्लब रहेका छन्।

प्रतियोगिताको  महिला र पुरुष दुवै विजेताले ५ लाख प्राप्त गर्दा उप विजेता हुनेले २ लाख ५० हजार तेस्रो हुने टोलीले १ लाख २५ हजारमा चित्त बुझाउने छन्।

यसैगरी, सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले ४०-४० हजार, व्यक्तिगत विधातर्फ उत्कृष्ट सेटर, ब्लकर, सर्भर, स्पाइकर, लिवेरो र प्रशिक्षकले १५-१५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने नेपाल भलिबल संघले जनाएको छ।

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १०:०४
Weather Update