
काठमाडौं— इंग्लिस प्रिमियर लिगमा फुलह्याम र बर्नलीले जित निकाल्दा लुटन र नटिङहम फरेस्टले बराबरी खेलेका छन्।
शनिबार राति भएको खेलमा फुलह्यामले टोटनह्यामलाई ३–० गोल अन्तरले पराजित गरेको हो। फुलह्यामको जितमा रोड्रिगो मुनेजले २ गोल गर्दा सा लुकीले एक गोल थपे।
खेलको ४२ औं मिनेटमा एन्टोनी रोविनसनको पासमा मुनेजले गोल गर्दै फुलह्यामलाई अग्रता दिलाए। ४९ औं मिनेटमा लुकीले टिमोटी कास्टेग्नेले गोल गरेपछि फुलह्यामले अग्रता दोब्बर बनाएको थियो।
यस्तै, ६१ औं मिनेटमा मुनेजले व्यक्तिगत दोस्रो गोल गर्दा फुलह्यामले ३–० को सहज जित निकाल्न सफल भयो।
जितसँगै फुलह्याम ३८ अंकका साथ तालिकाको १२ औं स्थानमा रहेको छ भने पराजित भएको टोटनह्याम ५३ अंकका साथ तालिकाको पाँचौं स्थानमा रहेको छ।
प्रिमियर लिगकै अर्को खेलमा बर्नलीले ब्रेन्टफोर्डलाई २–१ गोल अन्तरले पराजित गरेको छ। ब्रेन्टफोर्ड आठौं मिनेटमा १० खेलाडीमा समेटिएको थियो। सर्जियो रिगुलियन रातो कार्ड पाउँदै मैदान छाडेका थिए। त्यसपछि पाएको पेनाल्टीमा बर्नलीका ज्याकोब लार्सेनले गोल गर्दै अग्रता दिलाए। ६२ औं मिनटमा डेभिड फोफानाले गोल गर्दै बर्नलीको अग्रता दोब्बर पारेका थिए।
तर, ८३ औं मिनेटमा क्रिष्टोफोर अजेरले ब्रेन्टफोर्डका लागि गोल गर्दै अन्तर कम गरे पनि हार टार्न सकेनन्। प्रिमियर लिग तालिकामा बर्नली १९ औं तथा ब्रेन्टफोर्ड १५ औं स्थानमा छ।
यसैगरी नटिङहम फरेस्ट र लुटन टाउनले एक –एक गोलको बराबरी खेल्दै एक– एक अंक लिएका छन्। ३४ औं मिनेटमा क्रिस वुडले गोल गर्दै नटिङहम फरेस्टलाई अग्रता दिलाएका थिए। तर, ८९ औं मिनेटमा लुटनका लागि लुकी बेरीले बराबरी गोल गर्दै महत्वपूर्ण एक अंक दिलाए। नटिङहम १७ औं तथा लुटन १८ औं स्थानमा छ।
प्रिमियर लिगमा आज राति नेपाली समय अनुसार पौने ८ बजे वेस्टह्याम र एस्टन भिल्ला भिड्ने छन्।