News Griha :: न्यूजगृह
भारतीय नागरिकले चलाएका थिए मनी ट्रान्सफर सञ्चालकमाथि गोली [अपडेट]

काठमाडौं — रौटहटको परोहानगरपालिका–९ स्थित शिव मनी ट्रान्सफरका सञ्चालकलाई गोली हानी भाग्दै गरेका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

शुक्रबार दिउँसो १ बजेतिर आईएमई सञ्चालक २४ वर्षीय नितेश साहलाई गोली हानी भाग्दै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट रामपुरखापबाट खटिएको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। 

घटना संलग्न भारत विहार पूर्वी चम्पारण मोतिहारी दीपही–२ बस्ने मनिषकुमार यादव, राजकुमार पासवान र चन्द्रभान सिंहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

काउन्टरमा काम गरिरहेको अवस्थामा उनीहरूले सञ्चालक साहमाथि गोली प्रहार गरी फरार भएका थिए। गोली प्रहारबाट मनी ट्रान्सफर सञ्चालक साह घाइते छन्। प्रादेशिक अस्पताल गौरमा सामान्य उपचारपश्चात उहाँलाई वीरगञ्ज रेफर गरिएको छ।

नेपाल–भारत सीमा क्षेत्रस्थित घिउरा नाकामा खटिएका सशस्त्र प्रहरी हवल्दार लक्ष्मणसिंह ठगुन्नासहितको टोली र प्रहरी चौकी जयनगरबाट खटिएको टोलीले मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता प्रहरी नायब निरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।

प्रहरीले उनीहरूको साथबाट एक नाल कटुवा पेस्तोल र बीआर ०६ सिएल ९७९६ नम्बरको भारतीय मोटरसाइकलसमेत बरामद गरेको छ।

रौतटहमा गोली चल्यो, मनिट्रान्सफर सञ्चालक घाइते

 

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १५:१०
Weather Update