News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
विन्ध्यवासिनी म्युजिक अवार्डः : गायनमा निशान र काव्या सर्वोत्कृष्ट

काठमाडौं— १४ औं संस्करणको ‘विन्ध्यवासिनी म्युजिक अवार्ड’मा गायकतर्फ निशान भट्टराई र गायिकातर्फ काव्या आचार्यले क्रमशः ‘सर्वोत्कृष्ट गायक’ र ‘सर्वोत्कृष्ट गायिका’को अवार्ड जितेका छन्।

निशानले गीत ‘प्रेमको प्रस्ताव’ र गायिका काव्याले ‘तिम्रो यादैमा’बाट अवार्ड उचालेका हुन्। अवार्डमा गीतकार विष्णु भण्डारीको ‘जाली माया’ बोलको गीत ‘सर्वोत्कृष्ट गीत’ ठहरियो।

मुक्तिनाथ विकास बैंक र रमपम तयारी चाउचाउको प्रस्तुतिमा बिहीबार राति सम्पन्न अवार्डमा विभिन्न ३१ विधामा सम्मान र अवार्ड प्रदान गरिएको थियो। 

Prabhu Bank

अवार्डमा बीबी अनुरागीले ‘जान्दिन है प्रियतम’बाट ‘सर्वोत्कृष्ट संगीतकार’, सत्यराज चौलागाइँले ‘सँगसँगै बाँचौँला’बाट ‘सुगम रचना’, राधिका अधिकारीले ‘नभए यदि भार ’बाट ‘सुगम महिला संगीतकार’ र सुदीप सागरले ‘सकम्बरी’बाट ‘संगीत संयोजन’को अवार्ड जिते।

त्यस्तै टंक तिमल्सिनाले ‘मेरी चम्पा’बाट ‘पप गायन’, रमेशराज भट्टराई र रचना रिमालले ‘भन साईला २’बाट ‘युगल गायन’, रामचन्द्र चन्दले ‘घाँटी रेट्नेलाई’बाट ‘लोकदोहोरी गायक’, जुना श्रीष मगरले ‘पानी खोलीको’बाट ‘लोकदोहोरी गायिका’, रमेश परियारले ‘वनमा खयर’बाट ‘लोकदोहोरी भाका’ र कृष्ण भारद्वाजले ‘डम्बर कुमारी’बाट ‘लोकदोहोरी गीत’को अवार्ड पोल्टामा पारे।

त्यस्तै विजय पुन र गीता ढुङ्गानाले ‘पत्थरको मुटु २’बाट ‘आधुनिक भिडियो मोडल जोडी’, बाबुराम श्रेष्ठले ‘वीर नेपाली सेना’बाट ‘राष्ट्रिय भावनाको गीत’, मौसम हिमालीले ‘रिमै’बाट ‘लोकदोहोरी भिडिओ निर्देशक’, शिशिर खाती’ले ‘जुम्ला’बाट ‘सुगम भिडिओ निर्देशक’, नवराज उप्रेतीले ‘सकम्बरी’बाट ‘भिडिओ छायाँकार’, मनोज कार्कीले ‘जुम्ला’बाट ‘भिडिओ सम्पादक’को अवार्ड चुमे। 

यसैगरी डोलराज परियारले ‘कमली’बाट ‘दोहोरी नवप्रतिभा’, चेतन गोतामेले ‘को आफ्नो को पराई’बाट ‘पप तथा आधुनिक नवप्रतिभा’, दिक्पाल कार्की र अनु पराजुलीले ‘ओ राजै’बाट ‘लोकदोहोरी मोडल’को अवार्ड जिते।  

कार्यक्रममा नेपालकै पहिलो क्याब्रे गीतकी गायिका मिरा राणालाई एक लाख रुपैयाँ राशीसहित ‘विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड २०८०’ बाट सम्मान गरिएको थियो। त्यस्तै, संगीतकार भूपेन्द्र रायमाझीलाई ५० हजार रुपैयाँसहित ‘विन्ध्यवासिनी साधना सम्मान’ गरियो।

यस्तै पत्रकार शान्तिप्रियलाई ‘विन्ध्यवासिनी कला पत्रकारिता सम्मान’, गायक रूपक डोटेललाई ‘प्रेमध्वज संगीत रत्न सम्मान’ र लोकगायक राजु परियारलाई ‘झलकमान लोकसंगीत सम्मान’बाट सम्मान गरिएको थियो। सम्मानको राशि जनही २५ हजार रुपैयाँ थियो।

कार्यक्रममा गायिका लक्ष्मी सुवेदीलाई १५ हजार रुपियाँसहित ‘अनवरत लोकदोहोरी स्रष्टा सम्मान’ बाट सम्मानित गरियो। गायिका बेनिशा पौडेलले गायिका मिरा राणाको सम्मानमा ‘मखमली चोली चाहिँदैन’, सुमनकुमार श्रेष्ठले संगीतकार भूपेन्द्र रायमाझीको सम्मानमा ‘बिरही माया’ र ‘फूल भए जिन्दगी’ बोलको गीत गाएका थिए।

सम्मानित गायक रूपक डोटेलले ‘सपनी राम्रो देख्दिनँ’, ‘मेरो बोली सुन्दा’, ‘ए माइली’, ‘चोखो माया लाकै हो’, ‘मुस्कानमा अल्झिए कि’, ‘वनकी चरी’ गति सुनाउँदा अर्का सम्मानित गायक राजु परियारले सामाजिक जागरणको गीत ‘सुनपानीले छर्क मायालु’ गाएका थिए।

कार्यक्रममा पल शाहलाई ‘मस्ट पपुलर आर्टिस्ट अवार्ड’, एलिना रायमाझीलाई ‘पब्लिक च्वाइस अवार्ड’ प्रदान गरिएको थियो। जुरी अवार्डतर्फ बेनिषा पौडेललाई ‘आधुनिक गायन’, समीक्षा अधिकारीलाई ‘लोक तथा दोहोरी गायन’, सविता पोखरेललाई ‘गीतकार’, सञ्चिता शाहीलाई ‘अभिनय’, दीपक विष्टलाई ‘सम्पादन’ र काजिश श्रेष्ठलाई ‘निर्देशन’को अवार्ड दिइएको थियो।

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १४:५९
Weather Update