News Griha :: न्यूजगृह
त्रिकोणात्मक शृंखला: उपाधि जित्न नेपालले पीएनजीबाट पायो १७२ रनको लक्ष्य 

काठमाडौं— हङकङमा जारी त्रिकोणात्मक टी–२० शृङ्खलाको फाइनलमा पपुवा न्युगिनी (पीएनजी) ले नेपाललाई १७२ रनको लक्ष्य दिएको छ।

हङकङको मिसन रोड ग्राउन्डमा टस हारेर पहिले ब्याटिङमा आएको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन बनाएको हो। 

पीएनजीका लागि टोनी उराले सर्वाधिक ६१ रन बनाए। ३७ बल सामना गरेका उनले ५ चौका र ४ छक्का हानेका थिए। पीएनजीका कप्तान असद भाला भने २ रनमै आउट भए। आकाश चन्दको बलिङमा विनोद भण्डारीले उनलाई क्याचआउट गरेका हुन्। पीएनजीका लागि अलेई नाओले अन्तिममा विस्फोटक ब्याटिङ गर्दै टिमको रन बढाए।

१० बलमा ३ छक्का र १ चौकासहित उनले ३० रन बनाए। त्यस्तै हिरी हिरीले १५, हिला वारेले १८ रन बनाए।

नेपालका लागि कुशल भुर्तेल र आकाश चन्दले ३/३ विकेट लिए। त्यस्तै करण केसी र गुलशन झाले १/१ विकेट लिए।

नेपाल र हङकङबीचको आइतबार खेल वर्षाका कारण बीचैमा रोकिएर रद्द भएको थियो। पपुवा न्युगिनीमाथिको मङ्गलबारको जितले नेपाललाई फाइनलमा डोर्‍याएको हो।

मङ्गलबारै लिगको अन्तिम खेलमा हङकङलाई १० विकेटले पराजित गरेपछि पपुवा न्युगिनीले नेपालसँग फाइनल खेल्ने पक्का भएको हो। 

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १३:३७
Weather Update