News Griha :: न्यूजगृह
​हङकङमा जारी टी–२० आई सिरिजको उपाधिका लागि नेपाल र पीएनजी भिड्ने

काठमाडौं— हङकङमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधिका लागि नेपाल र पपुवा न्युगिनी (पीएनजी)बीच प्रतिस्पर्धा हुने भएको छ। मंगलबार भएको दोस्रो खेलमा पीएनजीले घरेलु टोली हङकङलाई १० विकेटको फराकिलो अन्तरले पराजित गरेपछि फाइनल खेल्ने टोलीको टुंगो लागेको हो। 

मंगलबार भएको पहिलो खेलमा नेपालले पीएनजीलाई ८५ रनको फराकिलो अन्तरले हराएको थियो। 

सिरिजको पहिलो खेलमा नेपाल र हङकङबीच प्रतिस्पर्धा भएको थियो। पहिलो खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले अंक बाँडेका थिए। 

लिग चरणको खेल सकिँदा नेपालले ३ अंक जोड्यो भने पीएनजीले २ अंक जोड्यो। १ अंक जोडेको हङकङले तेस्रो स्थानका लागि हङकङ ‘ए’सँग खेल्नेछ। 

मंगलबार पीएनजीविरुद्ध सुरुवाती ब्याटिङ गरेको हङकङ १८.३ ओभरमा १२१ रन बनाउँदा अलआउट भयो। १२२ रनको लक्ष्य पीएनजीले एउटा पनि विकेट नगुमाइ पूरा गर्‍यो। 

त्यसअघि हङकङको मोगं कोगं क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १९८ रन बनाएको थियो। १९९ रनको लक्ष्यसहित जवाफी ब्याटिङका लागि मैदानमा उत्रिएको पपुवा न्युगिनी १६ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ११३ रनमा सीमित भयो।

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १५:१५
Weather Update