News Griha :: न्यूजगृह

काठमाडौं— कोरोना संक्रमण बढेसँगै काठमाडौं उपत्यकाका अस्पतालहरूमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या बढ्न थालेको छ । 

पछिल्लो केही हप्तादेखि कोरोना संक्रमितको संख्या बढिरहेको छ । कोरोना संक्रमित बढ्न थालेसँगै अस्पतालहरूमा कोभिड १९ विरुद्धको खोप लगाउनेको उपस्थिति बाक्लिएको हो । केही दिनयता नेपालमा दैनिक एक सयको हाराहारिमा संक्रमितहरू बढिरहेका छन् । यस बीचमा केही नागरिकको कोरोना भाइरसका कारण निधन भएको छ । 

तर, कोरोना भाइरसको संक्रमणका कारण निधन हुनेमा भने ज्येष्ठ नागरिक र दीर्घरोगीहरू मात्रै रहेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डा. शेरबहादुर पुनले बताए । कोरोना भाइरस बढिरहनुको कारण हालको लागि ओमिक्रोन भेरियन्टको सबभेरियन्टहरू रहेको उनले बताए । उनले नेपालमा अहिले ९ वटा सबभेरियन्ट फेला परेको र जसमा आधा भन्दा धेरै नयाँ प्रजातिको रहेको बताए । 

डा. पुनले नयाँ भेरियन्टमध्ये पनि एक्सबीबी.१.१६ समुदायमा बढी संक्रमण फैलाउने किसिमको रहेको उल्लेख गरे । उनले यो सब भेरियन्टले नेपालमा पछिल्लो समय ४२ प्रतिशत संक्रमण फैलाइरहेको बताए । 

कोरोना संक्रमण बढेसँगै अहिले काठमाडौंको शुक्रराज अस्पतालमा पनि कोरोना संक्रमितहरू बढ्दै गएका छन् । अस्पतालमा कोरोनाका लक्षण देखिएकाहरू स्वास्थ्य जाँच गर्न आइरहेको र अस्पतालमा भर्ना हुने र उपचार गर्नेहरू बढेको अस्पतालले जनाएको छ । 

डा. पुनले कोरोनाको बुस्टर मात्रा नलगाएकाले बेलैमा बुस्टर लगाउन पनि आग्रह गरे । उनले कोरोना संक्रमणलाई थप बिस्तार हुन नदिनका लागि मास्कको अनिवार्य प्रयोग र हातको सरसफाइ राम्रोसँग गर्न पनि सुझाव दिए । उनले बेलैमा स्वास्थ्यका मापदण्डसहित सतर्कता अपनाए थप क्षति व्यहोर्न नपर्ने बताए । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  १२:५९
Weather Update